हिउँदे वर्षा सुरु हुन ढिलो, कहिले पर्ला पानी ?

ओकेखबर संवाददाता १७ पुष २०८०, मंगलवार १९:३१ मा प्रकाशित ( महिना अघि) २६ पाठक संख्या

काठमाडौं । काठमाडौं । नेपालमा हिउँदे वर्षा गराउने प्रणाली अझै भित्रिएको छैन । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन नसकेको हो । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।

वर्षाका लागि सक्रिय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनले भनिन्, ‘राम्रो प्रणाली आइदिएको भए आकाशमा जमेका प्रदूषित वायु तथा तुवाँलो हटेर वर्षाका लागि वातावरण बन्थ्यो ।’ एक महिनासम्म वर्षा नहुँदा पनि हिउँदमा औसतभन्दा बढी वर्षाको सम्भावनामा कुनै असर नपर्ने उनले बताइन् । ‘पश्चिमी वायु नै कमजोर आइरहेकाले ढिलाइ भएको हो, यसले वर्षाको औसतमा कुनै असर गर्दैन,’ मौसमविद् मानन्धरले भनिन्, ‘हिउँद महिनामा साढे दुई महिना नै वर्षा नभएर एक दुई दिन मजाले वर्षा भएमा त्यसले औसत वर्षाको आँकडा मजाले भेट्न सक्छ ।’

एक महिनाअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मौसम सङ्गठनको विश्लेषण अनुसार यो हिउँदमा नेपालका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो । वर्षा नहुँदा नेपालमा सुक्खा चिसो बढ्न थालेको छ । आद्र्रताबाहेकको चिसोले मानव स्वास्थ्यमा असर पार्न थालेको छ । वर्षा नहुँदा आकाशमा धुलो, धुवाँ र प्रदूषणका कण बढ्दै गएको छ ।

चिसो हावामा मिसिएर ती कण मानव शरीरमा प्रवेश गर्दा सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेको छ । वर्षा हुने छनक अझै नदेखिएको विभाग अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तथापि आगामी दुई दिन हिमपातको सम्भावना भने देखिएको मौसमविद् मानन्धरले जानकारी दिइन् । गण्डकी र कोशी क्षेत्रमा सामान्य हिमपात हुने देखिएको हो ।

हिउँदे वर्षा ढिलो हुँदा बालीमा कस्तो प्रभाव ?
अहिले नेपालमा धेरैतिर हुने गहुँबालीका लागि हिउँदे वर्षा महत्त्वपूर्ण हुने बालीविज्ञहरू बताउँछन् । कोसेबालीका हकमा भने फूल तयार हुने बेला वर्षा भएमा कतिपय बालीलाई असर पर्न सक्ने बताइन्छ ।

पानी लामो समय परेर निकास हुन नसकेको खण्डमा तराईमा पानीको भार सहन गर्न नसक्ने मुसुरोजस्तो बिरुवा ओइलाउने समस्या हुने भएकाले त्यसको मात्रा र समय महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ पाइन्छ । आलुको दाना लाग्न लागेको अवस्थामा पानी धेरै छ भने त्यसमा ढुसीजन्य रोगको समस्या हुनसक्छ ।


सम्बन्धित खबरहरु