निमोनिया रोकथामका लागि तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन

ओकेखबर संवाददाता ६ पुष २०८०, शुक्रबार ०८:४८ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं । चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा रहन भनिएको बताए । उनका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस अर्थात् श्वासप्रश्वासमा असर गर्ने भाइरसले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ ।

कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले यो रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले बताए । डा. बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा चेक तथा जाँचमा पनि कडाइ गरिएको जानकारी दिए। चीनमा सङ्क्रमण देखिएको लामो समय भैसकेको छ ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले यो खालको निमोनिया रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको छ ।


सम्बन्धित खबरहरु