एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन : ओली

ओकेखबर संवाददाता २५ मंसिर २०८०, सोमबार १५:४० मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताएका हुन् ।

उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकास प्रेमी र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालेको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए ।

उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताए ।

उनले एमाले फेरी उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए । उनले कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पङ्क्तिलाई अगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताए ।

उनले भने ‘नेकपा एमाले सरकारमा भएको बेलामा दुनियाँले रोक्दा रोक्दै पनि एमालेले गरेका कामबाट स्पष्ट हुन्छ । अब यो देशमा कुनै वैकल्पिक शक्ति छैन । एमालेलाई आन्तरिक र बाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए । हाम्रो पार्टी फुटाए । पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौँ र भित्तामा टासिदिन्छौं भने पार्टी चकनाचुर हुन्छ भने तर त्यो उनीहरूको सपना थियो । एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ । अब लोकप्रिय पार्टी मात्रै भएर पुगेन । यस लोकप्रिय र देशभक्त,सुशासन,शान्ति, विकास प्रेमी र जनताका समस्या हेर्ने पार्टीको एकल बहुमतको सरकार नभई देशलाई स्थायी रुपमा दिगो रुपमा रक्षा गर्न र अगाडि बढाउन सकिँदैन । समृद्ध बनाउन सकिँदैन भन्ने कुरा स्पष्ट भएको छ । मिसन ८४ को सपना खास गरी होइन । उहिले नै जब पस्किरमा गोली हानेर इलो थापी र वीरबहादुर थामीको निर्ममतापूर्वक हत्या भएको थियो । अब डराउने र अलमलिने अवस्था छैन । विकास निर्माणका कामहरूलाई युद्ध स्तरमा अगाडि बढाएका छौं ।’

उनले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गरे । उनले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पारे ।


सम्बन्धित खबरहरु