शरणार्थी प्रकरण : आज टोपबहादुर रायमाझीका तर्फबाट बहस हुँदै

ओकेखबर संवाददाता १२ मंसिर २०८०, मंगलवार ०९:०७ मा प्रकाशित ( महिना अघि) ७१ पाठक संख्या

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट आज बहस हुने भएको छ। गत मङ्गलवारबाट नक्कली भुटानी शरणार्थी प्रकरणको बहस निरन्तर सुनवाइमा छ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालतमा पाटनमा भएको बहस सोमवार सकिएको हो। उनको तर्फबाटको बहस आइतवारबाट सुरु भएको थियो। गत मङ्गलवारबाट हालसम्म १८ जनाको बहस सकिएको पाटन उच्च अदालतले जनाएको छ। आजबाट पाटन अदालतमा पूर्व मन्त्री रायमाझीको बहस सुरु हुँदैछ।

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए। खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरूले बहस गरेका हुन। आइतवर वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए। त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका थिए।

पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, कृष्णप्रसाद सापकोटा, महादेव यादव तथा सुरेन्द्र महतोले बहस गरेका थिए। उनीहरूले रकम नै लेनदेन पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नै नहुने दाबी गरेका थिए।

‘जाहेरीवालाले बालकृष्ण खाँणले यति पैसा लग्यो भनेका छैनन्। केशव दुलाल र टेकनारायणको संवादलाई लिएर खाँणलाई मुछिएको छ। खाँण आफू कहीँ पनि संलग्न नभएकाले जिल्ला अदालतले गरेको निर्णय कानुनसम्मत छैन,’ बहसको क्रममा खाँणका कानुन व्यवसायीले जिकिर गरेका थिए।

उच्च अदालतका न्यायाधीश द्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दै राखेर सुनुवाइ भइरहेको छ। काठमाडौँ जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई त्रुटिपूर्ण भएको भन्दै उनीहरूले पाटन उच्च अदालतमा पुनः सुनुवाइको माग गरेका थिए।

जिल्ला अदालत काठमाडौंले अभियोगी मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।


सम्बन्धित खबरहरु