हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु

ओकेखबर संवाददाता ११ मंसिर २०८०, सोमबार ०७:५३ मा प्रकाशित ( महिना अघि) ५४ पाठक संख्या

एजेन्सी । हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ । इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए । विज्ञप्तिमा भनिएको छ, “हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौं हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ । उनीहरूको रगत मुजाहिदीनका लागि ज्योति र कब्जा गर्नेहरूका लागि आगो हुनेछ ।”
गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पु¥याएको बताएका थिए ।

घाण्डोर दुई पटकसम्म इजरायली जेलमा कैँदी जीवन विताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाई आक्रमणमा परी उनले आफ्ना दुई छोरालाई गुमाएका थिए । सन् २०१४ को युद्धका क्रममा इजरायलमा रकेट प्रहार गरेको आरोपमा सेनाले उनको घर भत्काएको थियो र त्यसको एक वर्षपछि इजरायलको एक गैरसरकारी संस्थाले उक्त द्वन्द्वका क्रममा युद्ध अपराध गरेको अभियोगमा उनको नाममा मुद्दा दायर गरेको थियो ।
सन् २०१७ मा अमेरिकी आर्थिक प्रतिबन्धको कालोसूचीमा रहेका घान्डोरलाई ‘विश्वव्यापी आतङ्कवादी’को सूचीमा राखिएको थियो । अमेरिकी विदेश मन्त्रालयले त्यतिबेला उनी हमासको राजनीतिक ब्युरोको सदस्य हुनुका साथै गाजा, वेस्ट बैंक र विदेशका आफ्ना नेताहरूलाई समूहबद्ध गर्ने लडाकू समूहको ‘शूरा काउन्सिल’मा रहेको बताएको थियो । सन् २००६ मा केरेम शालोम सीमा क्षेत्रमा रहेको इजरायली सैन्य चौकीमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए ।

उक्त आक्रमणको परिणामस्वरूप इजरायली सैनिक गिलाद शालितको अपहरण भयो, जसलाई हमासले पाँच वर्षसम्म हिरासतमा राखेको थियो र सन् २०११ मा एक हजार २७ प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिएको थियो। अक्टोबर ७ मा सुरु भएको गाजा युद्ध हमास लडाकूहरूले दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरू भएको थियो ।
यस युद्धमा एक हजार २०० मानिसहरूको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण मानिस थिए । लगभग २४० अन्यलाई खोसेको इजरायली गणनाले देखाएको छ । गाजाका हमास शासकहरूले हालैको इजरायली आक्रमणमा करिब १५ हजार मानिसहरूको ज्यान लिएको र त्यसमा अधिकांश सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।

इजरायली सेनाका एक वरिष्ठ अधिकारीका अनुसार सेनाले हमासको लडाकु फौजलाई ठूलो क्षति पु¥याएको छ, जसमा एक हजार लडाकूका २४ बटालियन रहेका छन् ।
उनले भने, “केही बटालियनमा हामीले हमासका सयौं आतङ्ककारी र अधिकांश बटालियन कमान्डरलाई मारिदियौं ।” “यो क्षति महत्वपूर्ण छ, यसले हमासको अहिले लड्ने क्षमतालाई नष्ट गरेको छ । साथै, यसले युद्धपछि आफ्नो सैन्य शक्तिको पुनस्र्थापना गर्ने क्षमतालाई पनि ध्वस्त पारेको छ ।
उनले मारिएका लडाकूको सङ्ख्या एक हजार वा १० हजार नभई यसको बीचमा रहेको बताएका छन् । हमासले जारी युद्धविरामको तेस्रो दिन आइतबार यो तथ्यलाई पुष्टि गरेको हो । युद्धविराम सम्झौता अन्तर्गत हमासले २६ जना इजरायली बन्धक फिर्ता गरेको छ भने १५ जना विदेशी नागरिकलाई फिर्ता गरेको छ ।
यी सबै महिला र बालबालिकालाई दुई समूहमा रिहा गरिएको हो ।


सम्बन्धित खबरहरु