स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा. केसीको माग

ओकेखबर संवाददाता १० मंसिर २०८०, आईतवार १५:३२ मा प्रकाशित ( महिना अघि) ५५ पाठक संख्या

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्।

राष्ट्रिय ट्रमा सेन्टरले शनिबार गरेको एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएपछि उनले यस्तो माग गरेका हुन्।

डा. केसीका आन्दोलनमा सहभागी हुने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने धम्कीसमेत मन्त्री बस्नेतले दिएका थिए।

आफूमाथि स्वास्थ्य मन्त्रीले ‘घोर आपत्तिजनक अभिव्यक्ति’ दिएको डा. केसीले आइतबार विज्ञप्ति जारी गरी बताएका छन्।

‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बरखिलाफ हो, निजलाई तत्काल पदमुक्त गरियोस्,’ डा. केसीले निकालेको विज्ञप्तिमा भनिएको छ।

आफूमाथि मन्त्री बस्नेतले लगाएका आरोप कपोलकल्पित, झुठा रहेको पनि डा. केसीले उल्लेख गरेका छन्। गुणस्तरीय, निःशुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको डा. केसीको भनाइ छ।

सीटीईभिटीअन्तर्गत मापदण्ड नपुगेका र विगतमा नियम मिचेर सञ्चालन गरेका नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कलेज तथा शिक्षालयलाई सम्बन्धन र सञ्चालन अनुमति दिन र दिलाउन विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, संसदको स्वास्थ्य तथा शिक्षा समितिका सांसद र माफिया तथ्यहीन हल्ला फैलाएर दबाब सिर्जना गर्न लागिपरेको उनको भनाइ छ।


सम्बन्धित खबरहरु