विपिनको रिहाइका लागि यसरी पहल गरिदैँछ

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार ०८:५२ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौ। नेपाल सरकारले गाजा क्षेत्रमा इजरायल र हमास समूहबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि आग्रह गरेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी गाजामा बन्दीहरूको रिहाइ तथा मानवीय सामग्रीको आपूर्तिका लागि मार्गप्रशस्त गर्ने सम्झौताको स्वागत गरेको हो ।

नेपालले यो सम्झौतामा पुग्न प्रयास गरेका कतार, अमेरिका र इजिप्टको प्रशंसा गरेको छ । ‘नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि नेपाल सरकार आह्वान दोहोर्‍याउन चाहन्छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी कञ्चनपुरका जोशी २० असोजदेखि गाजा क्षेत्रमा हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार नेपालका लागि इजरायलका राजदूत हनान गोदरसँग जोशीलाई पहिलो चरणमै रिहाइका लागि प्रयास गर्न अनुरोध गरेका छन् । पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जनालाई मुक्त गर्ने सहमतिअनुसार जोशीलाई पनि त्यही सूचीमा राख्न परराष्ट्रमन्त्रीले अनुरोध गरेका छन् ।

‘परराष्ट्रमन्त्रीले उपलब्ध सबै कूटनीतिक च्यानलहरूमार्फत विपिन जोशीको सकुशल रिहाइका लागि प्रयास जारी राख्नुभएको छ । यही सिलसिलामा इजरायलका राजदूतलाई बोलाएर छलफल भएको हो,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले भने । परराष्ट्रमन्त्री साउदले शुक्रबार कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुराइखीसँग पनि जोशीको रिहाइका विषयमा चासो राख्नेछन् ।

कतारी राज्यमन्त्री मुराइखी बिहीबार नेपाल आएका छन् । यसअघि कतारका राजाको नेपाल भ्रमणको तयारी भएकोमा इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण उनको भ्रमण पछि सरेको थियो । परराष्ट्रमन्त्री साउदले यसअघि पनि कतारी राज्यमन्त्रीलाई जोशीको रिहाइका लागि प्रयास गर्न अनुरोध गरेका थिए । प्यालेस्टाइनको हमास समूहसँग कतार, इजिप्ट र इरानको राम्रो सम्बन्ध छ ।

कतारी राज्यमन्त्रीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्दै छन् भने उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग औपचारिक वार्ता गर्दै छन् ।


सम्बन्धित खबरहरु