संविधान विरोधी प्रदर्शनमा निरीह बन्यो सरकार

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार ०८:२९ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आडभरोसामा हुर्केका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले लोकतान्त्रिक व्यवस्थाकै लागि चुनौती बनेर आन्दोलनमा होमिएका छन्।

राजसंस्थाको वकालत गर्दागर्दै वर्तमान संविधानलाई मानेर राप्रपालगायत दलहरू लोकतान्त्रिक व्यवस्थाभित्रको सदन र सरकार दुवैमा सहभागी भइरहँदा प्रसाईंले भने असंगठित समूह लिएर व्यवस्थामाथि नै चुनौती दिन थालेका हुन्। आफ्नो व्यवसाय धराशयी बन्दै गएपछि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका प्रसाईंले त्यसबाट जोगिन व्यवस्थामाथि नै धावा बोल्न थालेको जानकार बताउँछन्।

कुनै बेला गणतन्त्र ल्याउन आफ्नो योगदान रहेको दाबी गर्दै प्रसाईंले कम्युनिस्ट पार्टीका दुई नेतालाई आफ्नै घरमा बोलाएर खाना खुवाएको तस्बिर सार्वजनिक गरेर आफूलाई चर्चामा ल्याएका थिए । त्यतिबेला उनले झापामा सञ्चालन गरेको मेडिकल कलेजलाई सम्बन्धन दिलाउन भरमग्दुर प्रयास गरे। माओवादी केन्द्रबाट सो काम सफल नभएपछि एमाले प्रवेश गरेका प्रसाईंले केही समय एमालेकै गुनगान गाए। पार्टी सदस्यता नै नलिएकाप्रसाईंलाई एमालेले केन्द्रीय सदस्य बनायो। उनले झापा ३ बाट गत संसदीय निर्वाचनमा उम्मेदवार हुन खोजेका थिए।

त्यहाँ एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेपछि उनी बिस्तारै पार्टीबाट टाढिए। उनले २०७९ फागुन २१ गतेदेखि नेपालमा राजा आवश्यक भएको वकालत गर्दै आएका छन्।

उनी अहिले राजा, राजसंस्था र नागरिक महाभियानका नाममा अघि बढेका छन्। उनी माओवादी केन्द्र र एमाले नेताविरुद्ध गालीगलौजमा उत्रिएका छन् । गणतन्त्र नै नमान्ने बताउँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा एक कार्यक्रम उद्घाटन गर्न लगाएका थिए। त्यसपछि विवादमा तानिएका उनले काल्पनिक र पत्याउनै नसक्ने तर्क गर्न थाले। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिन फिङसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको बताउने गरेका छन्। मंसिर ७ को प्रदर्शनको केहीअघि भारत पुगेका उनले आफ्ना समर्थकलाई भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेर आएको बताएका थिए।

आफू चर्चामा आउन र आफ्नो अभियानमा मान्छे बटुल्न उनले सयौं झुटको सहारा लिइरहेका छन्। २०७९ फागुन २१ गते उनले पूर्वराजा ज्ञानेन्द्रलाई झापा लगेर कार्यक्रम गरेका थिए । आफू संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’को उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र पुगेपछि प्रसाईं निकै उत्साहित भए। त्यस कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत सहभागी थिए। तर पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी भने उपस्थित भएनन्। प्रसाईंले पूर्वराजालाई भेटेरै अभियान उद्घाटन कार्यक्रमका लागि निमन्त्रणा दिएका थिए। पूर्वराजा ज्ञानेन्द्रले कार्यक्रम उद्घाटन गरेर हिँडेपछि प्रसाईंले राजसंस्थाको पक्षमा वकालत गर्दै गणतन्त्र विरोधी भाषण गरेका थिए ।


सम्बन्धित खबरहरु