प्रसाईंको प्रदर्शनमा प्रहरीले हान्यो १५७ सेल अश्रुग्यास र ५ राउन्ड रबरका गोली

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार २०:०९ मा प्रकाशित ( महिना अघि) ३० पाठक संख्या

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा प्रहरीले अत्याधिक मात्रामा अश्रुग्यास प्रहार गरेको छ।

प्रदर्शनकारीलाई प्रहरीले १ सय ५७ सेल अश्रुग्यास प्रहार गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले प्रदर्शनकारीलाई ५ राउण्ड रबरका गोलि पनि प्रहार गरेको थियो।

बिहीबार दिउँसो काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा प्हरी र प्रदर्शनकारीबिच पटक पटक झडप भएको थियो।

बिहान युवा संघ र प्रसाईंका कार्यकर्ताबिच सुरुमा झडप भएको थियो। त्यसपछि प्रहरीसँग झडप भएको हो। झडपमा प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको छ।

प्रदर्शनकारीतर्फ २३ जना र ५ प्रहरी गरी २८ जना घाइते भएका छन्। १७ जना घाइते उपचार पश्चात डिस्चार्ज भइसकेका छन्। ५ जना प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित खबरहरु