कतारले कसरी गरायो हमास-इजरेल सहमति ?

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार ०९:११ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । हमास र इजरेलबीच सहमतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कतारको प्रशंसा भएको छ । चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको प्रशंसा गरेका हुन् ।

दुई पक्षबीच त्यस्तो सहमति गराउन कतारबाहेक अमेरिका र इजिप्टले पनि सहयोग गरेका थिए । कतारी प्रधानमन्त्रीले अमेरिका र इजिप्टप्रति कृतज्ञता प्रकट गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले उक्त सम्झौता एउटा बृहत् तथा दीर्घकालीन सहमति” बन्ने र त्यसबाट “युद्ध र रक्तपातको अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन् ।

उनले अहिलेको सहमतिबाट बृहत् र न्यायसङ्गत शान्ति प्रक्रियाका लागि गम्भीर वार्ताको बाटो खुल्न सक्ने जनाएका छन् । उक्त सङ्घर्षविराम स्थानीय समय अनुसार बिहीवार बिहान १० बजेबाट सुरु हुने विवरणहरूमा जनाइएको छ । जसक्रममा मानवीय सहायता बोकेका गाडीहरू पनि गाजा पुग्ने आशा गरिएको छ ।

 

इजरेल र विश्व नेताका प्रतिक्रिया
इजरेल सरकारले यसलाई युद्धको अन्त्य नभएको भन्दै हमासलाई पूर्ण रूपमा निस्तेज पार्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । उसले अझै गाजामा हवाई हमलाहरू रोकेको छैन । थप दश-दशजना बन्धकहरू छाडिँदाको अवस्थामा सङ्घर्षविराम एक-एक दिनले थपिने इजरेलले जनाएको छ ।

मुक्त गर्न लागिएका इजरेली बन्धकहरूको सूचीमा ३० जना बालबालिका, आठजना महिला र १२ जना वृद्ध महिलाहरू समावेश गरिने छ । ती सबै इजरेली यहुदीहरू हुनेछन् । यूकेका विदेशमन्त्री डेभिड क्यामरनले यस सहमतिलाई बन्धकहरू छुटाउन र गाजामा मानवीय सहायता पुर्‍याउनका लागि महत्त्वपूर्ण कदम भनेका छन् । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले सबै बन्धकहरू छुटाउनका लागि अथक प्रयासहरू भइरहेको जनाएका छन् ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यसलाई सही दिशामा महत्त्वपूर्ण कदम बताएका छन् । तर उनले थप धेरै कामहरू गर्न आवश्यक रहेको बताए । रोममा पोप फ्रान्सिसले बन्धकहरूका इजरेली परिवार र इजरेली जेलमा रहेका प्यालेस्टिनीहरूका आफन्तहरूलाई भेटेका छन् । जसपछि उनले जारी द्वन्द्व युद्धभन्दा पर गएर “आतङ्कवाद” बनेको र दुवै पक्षलाई पीडा दिएको बताए ।

सङ्घर्षविरामलाई प्यालेस्टिनी नेता महमुद अब्बास, युरोपेली सङ्घ ईयू र अमेरिका, जोर्डन, रुस, चीन, इजिप्ट, फ्रान्स र जर्मनी सहितका देशले स्वागत गरेका छन् । इजरेलले यस लडाइँका बेला पछिल्ला सातामा केही ठाउँहरूमा संक्षिप्त सङ्घर्षविराम गर्ने गरेको थियो । तर गए राति पुष्टि गरिएको चार दिन लामो सङ्घर्षविराम ७ अक्टोबर यता गाजा क्षेत्रभर हुन लागेको पहिलो पूर्ण आकारको सङ्घर्षविराम हो ।

 

कतारको भूमिका
पर्सिअन खाडीमा अवस्थित कतार एउटा सानो देश हो । कुनैबेला मध्यपूर्वको निकै गरिब देश हाल त्यस भेगको धनीमध्येमा पर्छ ।

पछिल्ला वर्षमा उक्त देशले आफ्नो छिमेकमा मात्र नभएर विश्वभरका वार्ताहरूमा मुख्य भूमिका निर्वाह गरेको थियो । उसले यसअघि समेत इजरेल र हमासबीच युद्धविराम गराउन सकेको थियो । कतारका नेताहरूले कैयौँ वर्षदेखि ‘मध्यपूर्व र संसारभरका द्वन्द्वमा सबै पक्षसँग – लगभग सबै पक्षसँग – कुरा गर्ने रणनीति अङ्गीकार गरेको छ,’ द ग्रुप गल्फ स्टेट एनलिटिक्सका जर्जिओ काफिआरोले भने ।

उक्त देश भेनेजुएला, चाड र सुडान संलग्न वार्ताहरूमा समेत सहभागी भएको उनी बताउँछन् । ‘यो अन्तर्राष्ट्रिय मञ्चमा दोहालाई बढ्दो रूपमा सक्दो धेरै भिन्नभिन्न पक्षका लागि उपयोगी बनाउने कूटनीतिक रणनीतिको एउटा पाटो हो,’ काफिआरोले थपे ।

केही सरकारहरूले दोहाको हमासजस्ता अतिवादी समूहसँगको सम्बन्धलाई लिएर आलोचना गर्छन् । सन् २०१७ मा साउदी अरब नेतृत्वमा केही देशले उक्त देशसँग सम्बन्ध तोडेका थिए । जस क्रममा उनीहरूले कतारलाई अतिवादी र इस्लामिस्ट समूहहरूसँग सम्बन्ध तोड्न बाध्य पार्न त्यसो गरेको दाबी गरेका थिए । कतारले आतङ्कवादलाई समर्थन गरेको भनिएका दाबीलाई कडा रूपमा खण्डन गर्ने गरेको छ ।

त्यस्ता समूहहरूसँगको जुनसुकै सम्बन्धलाई दोहाले त्यस क्षेत्रका विभिन्न पक्षहरूसँग सम्बन्ध राख्ने आफ्नो स्वतन्त्र नीतिको एउटा पक्ष बताउने गरेको छ । कतार उपयोगी मध्यस्थकर्ताका रूपमा देखा परेको यो पहिलो घटना भने होइन । अफगानिस्तानको सत्तामा नहुँदा कैयौँ वर्ष उक्त देशले तालिबानको कार्यालय आफ्नो भूमिमा राख्न दिएको थियो ।

अमेरिका र उसका साझेदारहरू तालिबानसँग लडाइँमा हुँदा उसले वासिङ्टनलाई उनीहरूसँग वार्ता गर्ने ठेगाना उपयोगी हुने भन्दै आश्वस्त पार्‍यो । फलस्वरूप सन् २०२० मा एक विवादास्पद शान्ति सम्झौता भयो र त्यसपछिको वर्षमा काबुलबाट पश्चिमा शक्तिहरू भद्रगोल तरिकाबाट निस्किए ।

बीबीसी नेपालीको सहयोगमा


सम्बन्धित खबरहरु