सुरक्षा निकाय ‘हाई अलर्ट’मा

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार ०८:२९ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा कार्यक्रम गर्दैछन् । युवा संघको कार्यक्रम तीनकुनेमा र प्रसाईँको प्रदर्शन बल्खुमा हुने तय भएको हो ।

प्रदर्शनलाई ध्यान दिँदै उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको हो ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौं उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरूमा पनि सुरक्षा जाँच भइरहेको छ ।

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर निर्माण गरिएको छ ।


सम्बन्धित खबरहरु