गाजाको अल शिफा अस्पतालमा मानिसको भागाभाग, गेटमै ८० जनाको सामूहिक चिहान

ओकेखबर संवाददाता ३ मंसिर २०८०, आईतवार ०८:३६ मा प्रकाशित ( महिना अघि) ५९ पाठक संख्या

एजेन्सी । हमास शासित गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफाबाट सयौँ मानिस भागिरहेको देखिएको छ।

बीबीसीका अनुसार शनिबार यहाँका मेडिकल स्टाफले उनीहरूलाई अस्पताल छाड्न भनिएको बताए पनि इजरायलले यसलाई अस्वीकार गरेको छ।

गाजामा शनिबार हजारौं मानिस ढुङ्गा र भग्नावशेषले भरिएको सडकमा हिँडिरहेको देखिएका छन्। यी मानिसहरू बन्दुकको फायरिङको बीचमा हिँडिरहेका थिए।

यसैबीच, हमासको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबलियामा दुईवटा विस्फोट हुँदा ८० जनाको मृत्यु भएको जनाएको छ। इजरायलले बीबीसीसँग आफ्ना सेनाले संयुक्त राष्ट्रको आश्रय गृहमा आक्रमण गरेको हो वा होइन भन्ने पुष्टि गर्न सकेको छैन।

संयुक्त राष्ट्र संघको राहत एजेन्सीले विद्यालयलाई आश्रय गृहमा परिणत गरेको थियो। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा संयुक्त राष्ट्र संघको टोलीले अल-शिफा अस्पताललाई ‘डेथ जोन’ घोषणा गरेको छ।

उक्त टोलीले एक घण्टा अस्पतालको निरीक्षण गरेपछि त्यहाँ बम विस्फोट र गोली चलेको निशाना देखिएको जनाएको छ। साथै अस्पतालको गेटमै सामूहिक चिहान फेला परेको पनि टोलीले जनाएको छ। त्यहाँका मानिसले चिहानमा ८० जना पुरिएको बताएका छन्।

यसैबीच इजरायली सेनाले अल–शिफा अस्पताल छाड्न दिएको चेतावनीपछि पनि त्यहाँ अझै ३ सय जना गम्भीर बिरामी रहेको बताइएको छ।

डब्लुएचओले त्यहाँ फसेका मेडिकल स्टाफ र बिरामीहरूलाई तत्काल बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ।


सम्बन्धित खबरहरु