इजरायल र हमास समूहको युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

ओकेखबर संवाददाता २ मंसिर २०८०, शनिबार ०७:३८ मा प्रकाशित ( महिना अघि) ६७ पाठक संख्या

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र हमास समूहबीच भइरहेको युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् ।

एक सयभन्दा धेरै देशको भर्चुअल सम्मेलनमा उनले यो समय ग्लोबल साउथ देशहरु बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्नेमा जोड दिए। गएको सेप्टेम्बर २० तारिखमा शीर्ष विश्व अर्थतन्त्र समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो ।

संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील देशहरुका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले जलवायु वित्त, विकासशील देशहरुको कर्जा बोझ र दिगो विकासका लागि शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको बताए।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा भएको आक्रमणको भारतले निन्दा गर्दै आएको छ । संवाद र कुटनीतिमा जोड दिएको भारतले दुई पक्षबीचको सङ्घर्षमा नागरिकले ज्यान गुमाएका भन्दै भर्त्सना पनि गरेको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।


सम्बन्धित खबरहरु