टिकटक चलाउन ‘भिपिएन’ र ‘डिएनएस’काे प्रयाेग जोखिमपूर्ण

ओकेखबर संवाददाता २ मंसिर २०८०, शनिबार ०७:३४ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौं। सरकारले ‘सर्ट भिडियो प्लेटफर्म’ टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन। सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको हो । तर अहिले डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटक सञ्चालन भइरहेको छ ।

व्यक्तिगत डाटा र साइबर सुरक्षाको जोखिम मोलेर नेपालभित्र टिकटक प्रयोग भइरहेको हो । साइबर सुरक्षाविज्ञ र सरोकारवालाहरूले निःशुल्क भिपिएन र डिएनएस प्रयोग गर्दा त्यसका उत्पादकले प्राप्त गर्ने पहुँच निकै जोखिमपूर्ण हुने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान फेडेरेसनका महासचिव एवं साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले टिकटक चलाउन प्रयोग भइरहेका भिपिएन र डिएनएस व्यक्तिगत डाटा सुरक्षामा जोखिमपूर्ण हुने बताए। अध्यक्ष खनालले भने, “निःशुल्क भिपिएन प्रयोग गर्न जोखिम हुन्छ । किनभने भिपिएन प्रयोग गर्नुपूर्व त्यसका सर्तहरूमा कहाँ कहाँ एक्सेस राख्ने भएको हुन्छ, त्यो नबुझी प्रयोग गर्दा खतरा हुन्छ ।”

साइबर सुरक्षाविज्ञ अधिकारीले नेपालमा केही दिनयता एक लाखभन्दा बढी भिपिएन र डिएनएस प्रयोग भइरहेको बताउँदै निःशुल्क प्राप्त भिपिएन र डिएनएसले डाटादेखि बैङ्क खातामा पनि पहुँच हुने भएकाले प्रयोग नगर्न सुझाव दिए। साइबर सुरक्षाविज्ञ अधिकारीले भने, “टिकटक चलाउन भिपिएन र डिएनएसको प्रयोग बढेको छ । तर निःशुल्क प्राप्त यस्ता गेटवेबाट जुनसुकै बेला साइबर असुरक्षाको जोखिम हुन सक्छ, त्यसैले यसरी निःशुल्क पाइयो भनेर भिपिएन र डिएनएस प्रयोग नगर्दा नै राम्रो हुन्छ ।”

उनले भिपिएनका उत्पादकले व्यक्तिगत तथ्य तथ्याङ्क चोरी गर्ने भएकाले सचेत रहन आग्रह गरे। उनले शुल्क तिरेर प्रयोग गर्न मिल्ने भिपिएन एप केही सुरक्षित हुने बताए। उनले वान टाइम पासवर्ड (ओटिपी) तथा मोबाइल बैङ्किङ दुरुपयोग गरी व्यक्तिको खाताबाट करोडौँ रकम गायब भएका घटना स्मरण गर्दै यसरी भिपिएन जस्ता अवैधानिक एपको प्रयोगले व्यक्तिगत खातासँगै बैङ्कलाई पनि अप्ठ्यारो पर्ने बताए।


सम्बन्धित खबरहरु