टिकटकले नेपाल सरकारलाई पठाएकाे ७ बुँदे पत्रमा के छ ?

ओकेखबर संवाददाता १ मंसिर २०८०, शुक्रबार ०७:२७ मा प्रकाशित ( महिना अघि) ४९ पाठक संख्या

काठमाडौं । नेपाल सरकारले प्रतिबन्द लगाएपछि टिकटक कम्पनीले दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।

टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् ।

यही कात्तिक २७ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएको भन्दै सरकार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको थियो । त्यही दिन त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो ।

टिकटकले नेपाल सरकारको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै टिकटक बन्द गर्नुपर्ने कारणबारे आफूलाई जानकारी दिन आग्रह गरेको छ । यो प्लेटफर्मलाई नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका व्यक्तिले अँगालेको बताउँदै यो प्लेटफर्ममा उनीहरूले सूचना, शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका टिकटकको दाबी छ ।

नेपालमा टिकटक सञ्चालनका लागि गरेको केही प्रयासहरूबारे पनि प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय आफूसँग नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको कम्पनीले जनाएको छ । ‘प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टको समस्या पहिचान गर्न टिकटक नेपाल सरकारसँग मिलेर काम गरिरहन प्रतिबद्ध छ’, पत्रमा भनिएको छ ।


सम्बन्धित खबरहरु