टी-२० क्रिकेट सिरिज : नेपालले हङकङलाई दियो ५७ रनको लक्ष्य

ओकेखबर संवाददाता ३० कार्तिक २०८०, बिहीबार १४:३५ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडाैं। चार देश सम्मिलित महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको छ। हङकङ क्रिकेट क्लबको मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो।

नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। दोस्रो ‌ओभरमा पूजा महतोलाई ४ रनमा रनआउटको रुपमा गुमाएपछि नेपालको लगातार विकेट गएको थियो।

तेस्रो ओभरमा नेपालविरूद्ध हङकङकी इक्रा सहरले ह्याट्रिक गरेकी थिइन्। उनले २.३ ओभरमा सम्झना खड्कालाई १ रनमा आउट गरेपछिको दुई बलमा नेपालका काजल श्रेष्ठ र इन्दू बर्मालाई डकआउट गर्दै ह्याट्रिक गरिन्। उनले ह्याट्रिक गर्दा नेपालले २.५ ओभरमा ५ रन जोड्दा ४ विकेट गुमाएको थियो।

त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १-१ रनमा आउट भए। लगातार विकेट गएको बेलमा रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन्। उनले २५ रनको योगदान गरिन्। रुचिताबाट बोल्ड हुनअघि उनले ३० बलमा ४ चौका प्रहार गरिन्।

त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए। रोमा थापा ७ रनमा नटआउट रहिन्।

बलिङमा हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारिन्। हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो।


सम्बन्धित खबरहरु