बुर्किना फासोमा अज्ञात समूहकाे आक्रमणमा परी कम्तीमा ७० जनाकाे मृत्यु

ओकेखबर संवाददाता २८ कार्तिक २०८०, मंगलवार ०९:३० मा प्रकाशित ( महिना अघि) ६५ पाठक संख्या

एजेन्सी । पश्चिम अफ्रिकी देश बुर्किना फासोको एउटा गाउँमा अज्ञात समूहले गरेको आक्रमणमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अज्ञात आक्रमणकारीहरूले नोभेम्बर ५ मा बुर्किना फासोको उत्तरी क्षेत्रको जाङ्गो गाउँमा आक्रमण गरेका थिए । आक्रमणकारीहरूले मानिसहरूको हत्यापछि सम्पत्तिमा आगो लगाएका थिए ।

११ नोभेम्बरमा, घटनास्थलमा पठाइएको न्यायिक टोलीले कम्तीमा ७० जनाको मृत्यु भएको पत्ता लगाएको थियो ।

सरकारी वकिलको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुने र बेपत्ता हुनेको आधिकारिक संख्या अझै यकिन हुन नसकेको उल्लेख छ ।

युरोपेली संघले नरसंहारको छानबिन गर्न अधिकारीहरूलाई आग्रह गरेको छ । बुर्किना फासो पश्चिम अफ्रिकाका ती देशहरूमध्ये एक हो, जहाँ विगत केही वर्षदेखि रक्तपातपूर्ण द्वन्द्व चलिरहेको छ । यसबाट हजारौँको ज्यान गइसकेको छ भने लाखौँ मानिस घरबार छोडेर भागेका छन् ।


सम्बन्धित खबरहरु