कहाँबाट जाने ? कति लाग्छ खर्च ?
काठमाडौंबाट जाने हो भने माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ । माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ । बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चेहुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा । स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न पुगिन्छ । तर, समय रहेमा लामा होटल वा रिइभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।
भोलिपल्ट कहिले उकाली कहिले ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चरा चुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ । यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोेरीतर्फ जान्छन् ।
क्यान्जिङ गुम्बाबाट क्यान्जिङ री–१ साढे १ घण्टा र क्यान्जिङ–२ साढे २ घण्टामा पुगिन्छ । क्यान्जिङ रीबाट फर्किएर लाङटाङ आएर बास बस्दा राम्रो हुन्छ । र, लाङटाङबाट स्याफ्रुबेँसी आएर सवारीसाधनमा आफ्नो घर फर्किन सहज हुन्छ ।
लाङटाङ ट्रेल राम्रो र सहज भएकाले ५ दिनमा पूरा गर्न सकिन्छ । लाङटाङ ट्रेकिङका लागि कति खर्च लाग्ल भन्ने प्रश्न धेरैलाई लाग्न सक्छ । ५ दिनका लागि बिहानबेलुकाको दालभात खान र बस्नका लागि १५ हजार भए पुग्छ । र, बाटोमा खानका लागि काजु, किसमिस, ओखर, बदम, बिस्कुट, क्याटबरी चक्लेट भने आफूले छुट्टै लैजानुपर्छ ।
तस्विरमा हेरौं मनमोहक लाङटाङ