सरकारमा हुँदा पनि कांग्रेस निराश छ : गगन थापा

ओकेखबर संवाददाता १९ कार्तिक २०८०, आईतवार ०८:०४ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

लेखनाथ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजधानीदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा सहभागी भएपनि नेता, कार्यकर्ता निराश रहेको बताएका छन्। शनिबार पोखरामा पत्रकारहरूासँग कुराकानीका क्रममा उनले तीन तहकै सरकारमा हुँदा पनि निराश हुनु उदेकलाग्दो भएको टिप्पणी गरे।

“सबैतिर हामी सरकारमा छौँ । केही समयपछि सङ्घ सरकारको नेतृत्व पनि हाम्रै हुनेछ । सबैभन्दा दुःखी हामी नै छौँ किन ?” उनले जिज्ञासा राखे।

महामन्त्री थापाले भने, “आठ लाख ६६ हजार कार्यकर्ता भएको देशको सबैभदा पुरानो र सबैभन्दा ठुलो पार्टी काङ्ग्रेसलाई युगसापेक्ष बनाउन केही वैधानिक प्रावधान नै बदल्नुपर्छ।”

निर्वाचनमा टिकट बाँड्ने प्रक्रिया, पार्टी सदस्यता वितरण प्रक्रिया, आर्थिक पारदर्शिता र निर्णय प्रक्रिया बदल्नु पर्ने उनको भनाइ छ। कोशी प्रदेशमा फरक गठबन्धनबाट सरकार बनेकोतर्फ इङ्गित गर्दै उनले त्यसको समाधान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले निकाल्नुपर्ने बताए।

नेपालका दलहरूमा गठबन्धन सरकार सञ्चालन गर्ने संस्कार नै बस्न बाँकी रहेको जनाउँदै उनले चुनावअघिको गठबन्धन काङ्ग्रेसका लागि घातक बनेको दाबी गरे। “म जहाँ जहाँ पुगेँ, सबैतिर चुनावअघि गठबन्धन गर्नु हुन्न भन्ने आएको छु। निर्वाचनपछि सरकार बनाउन गठबन्धन सामान्य रहे पनि निर्वाचनकै बेला गठबन्धन गर्नै हुँदैन” उनले भने।


सम्बन्धित खबरहरु