एनआरएनएको नेतृत्वका लागि अनलाइन मतदान जारी, अध्यक्षको दौडबाट रविना ब्याक

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार ०९:१६ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

काठमाडौं। गैरआवासीय नेपाली संघको निर्वाचन बुधबार राति १२ बजेदेखि जारी रहेको छ। काठमाडौंमा जारी ११ महाधिवेशनमा नेतृत्व चयन गर्न संघले यसपटकदेखि अनलाइनमार्फत मतदान दिन सकिने व्यवस्था गरेको छ । संघको निर्वाचन आयुक्त चिरञ्जीवी ढकालका अनुसार बुधबार राति १२ बजेदेखि बिहीबार मध्याह्न १२ बजेसम्म विदेशमा रहेका मतदाताले अनलाईमार्फत मतदान गर्न सक्नेछन्।

काठमाडौंमा नै उपस्थित भएका मतदाताहरूले भने बिहीबार बिहान ११ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । काठमाडौंमा भौतिक रूपमा नै उपस्थित भएका मतदाताले कार्यक्रमस्थल सोल्टीमोडस्थित सोल्टी होटेलमा गएर मतदान गर्न सक्नेछन् । तर, भौतिक रूपमा उपस्थित भएका मतदाताले पनि अनलाइन नै मतदान गर्नेछन् । भौतिक रूपमा उपस्थित हुनेले साँझ ६ बजेसम्म मतदान गर्न सक्नेछन् । मतदान सम्पन्न भएको एक घन्टाभित्रमा परिणाम सार्वजनिक गरिने आयुक्त ढकालले बताए ।

संघको यसपटकको निर्वाचनका लागि विभिन्न मुलुकबाट चार हजार दुई सय प्रतिनिधि छानिएका छन् । जसमध्ये २० प्रतिशत मात्रै काठमाडौंमा उपस्थित भएको संघको अनुमान छ । संघले उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक अनिवार्य रूपमा काठमाडौंमा नै उपस्थित हुनुपर्ने व्यवस्था गरेको थियो । यसअघि भने भौतिक रूपमा नै उपस्थित भएर मतदान गर्नुपर्ने व्यवस्था थियो । तर, भौतिक रूपमा उपस्थित हुँदा निर्वाचन आर्थिक र नैतिक रूपमा पारदर्शी नभएपछि अनलाइन मतदान प्रणालीको व्यवस्था गरेको हो।

अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो। तर, उम्मेदवारी दिएकी रविना थापा ब्याक भएसँगै अब अध्यक्षमा संघका वर्तमान कार्यकारी अध्यक्ष डा।बद्री केसी, उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठबीच प्रस्तिस्पर्धा हुने भएको छ। उनले अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय गरेकी हुन्।

वर्तमान अध्यक्ष समेत रहेकी थापाले प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेकी छन्। थापाले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकतावद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेको बताएकी छन्।

गैरआवासीय नेपाली संघको निर्वाचनका लागि एक सय नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन्। उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । महासचिवका लागि दुईजना, सचिवका लागि १५ जना, कोषाध्यक्षका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । पाँचजना भने निर्विरोध चयन भएका छन् । निर्वाचित कार्यसमितिले दुई वर्षसम्म काम गर्न पाउँनेछन् । अध्यक्षमा संघका वर्तमान कार्यकारी अध्यक्ष डा।बद्री केसी, अध्यक्ष रबिना थापा तथा उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।


सम्बन्धित खबरहरु