आईसीसी विश्वकप क्रिकेट: न्युजिल्याण्ड शीर्ष स्थानमा

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार ०६:४४ मा प्रकाशित ( महिना अघि) ८६ पाठक संख्या

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शानदार जित निकालेको छ । गएराति भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले हरायो । न्युजिल्याण्डले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ ओभर ४ बलमै अलआउट भयो । उसले मात्र १ सय ३९ रन बनाउन सक्यो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए । अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । न्युजिल्याण्डका मिचेल स्यान्टनर र लाकी फग्र्युसनले समान ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले एक एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्स्, टम लाथम र विल यांगले अर्धशतकीय पारी खेले । ग्लेनले ७१, टमले ६८ विलले ५४ रनको योगदान गरेका हुन् । यस्तै, रचिन रबिन्द्रले ३२ रन बनाए ।

अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २–२ तथा रासिद खान र मुजिब उर रहमानले एक एक विकेट लिए । न्युजिल्याण्ड शानदार जितसहित शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म चार खेल खेलेकोमा सबै खेल जितेको न्यूजिल्याण्डले ८ अङ्क जोडेको छ।

दोस्रो स्थानमा धकेलिएको भारतको ६ अङ्क छ । २ अङ्क मात्र जोडेको अफगानिस्तान भने पुछार भन्दा माथि छ । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्ने छन् ।


सम्बन्धित खबरहरु