एनआरएनएको नयाँ नेतृत्वका लागि आज चुनाव

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार ०६:३७ मा प्रकाशित ( महिना अघि) ७२ पाठक संख्या

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ । नेपालमा रहेका प्रतिनिधिहरुलाई भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । एनआरएनएको ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएले ९६ हजार संगठित सदस्य रहेको जनाएको छ । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी रहेको छ । अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षका प्रत्याशी तीन जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।


सम्बन्धित खबरहरु