जलवायु संरक्षणका लागि ५० करोड मुस्ताङ पठाउने प्रधानमन्त्रीको घोषणा

ओकेखबर संवाददाता १ कार्तिक २०८०, बुधबार १३:०३ मा प्रकाशित ( महिना अघि) ५८ पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन्।

बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर असर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरेँ। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु।’

उनले जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा भएको बताए। ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालले गम्भीरतापूर्वक कुरा राख्नेछ। विकसित मुलुकहरूको कारण नेपालजस्ता देशहरूले व्यहोरेको क्षतिबापत हामीले अनुदान पाउनुपर्छ,’ उनले भने।

प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षणबापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने रु. ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन्।


सम्बन्धित खबरहरु