इजरायल सरकारले १० नेपालीको शव पठाउन प्रक्रिया थालेको छ : नेपाली दूतावास

ओकेखबर संवाददाता २६ आश्विन २०८०, शुक्रबार १५:३२ मा प्रकाशित ( महिना अघि) ५६ पाठक संख्या

काठमाडौं। इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ।

दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो।

दूतवासले अनलाइन रजिष्ट्रेशन विवरण प्राप्त हुने क्रम जारी रहेको बताउँदै नेपाल फर्काइसकिएका बाहेक फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण प्राप्त भएको जनाएको छ।

त्यस्तै निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको समेत दूतावासले जनाएको छ ।

हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ। अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुसँग पुनः अनुरोध गरिएको उल्लेख छ। नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।


सम्बन्धित खबरहरु