शिक्षकहरूद्वारा काठमाडौं महानगरको निर्देशन अवज्ञा, आन्दोलनमै जाने निर्णय

ओकेखबर संवाददाता ३ आश्विन २०८०, बुधबार २१:०७ मा प्रकाशित ( महिना अघि) ५३ पाठक संख्या

काठमाडौं । शिक्षकहरूले काठमाडौं महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरुले बन्द हड्तालमा नजान महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन् ।

बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो ।

काठमाडौं महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएको बेला उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका छन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले आन्दोलनमै जाने निर्णय गरिएको बताए । महानगरभित्रका ८४ जना प्रधानाध्यापककै हस्ताक्षरसहित निर्णय गरेर आन्दोलनबाट पछि नहट्ने निर्णय भएको उनले जानकारी दिए ।

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ८०० शिक्षक छन् । उनीहरूले आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने प्रधानाध्यापक गौतमले बताए ।

महानगरले बुधबारै एक विज्ञप्ती जारी गर्दै बन्द गरेर पठनपाठन प्रभावित गरेको खण्डमा त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर, शिक्षक कर्मचारीहरूले महानगरले गर्ने कारबाहीको बेवास्ता गर्दै आन्दोलनलाई नै निरन्तरता दिने निर्णय गरेका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।


सम्बन्धित खबरहरु