मतगणना अपडेट : कांग्रेस ३५ स्थानमा अगाडी, अन्य कति ?

ओकेखबर संवाददाता ५ मंसिर २०७९, सोमबार १६:५५ मा प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट लडेका थिए ।

साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्त्री हुन् । नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन् । उनले १५ हजार २५ मत प्राप्त गरे ।

निर्वाचन आयोगका अनुसार आज रात १ बजेसम्म नेपाली कांग्रेस ३५ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छ । साथै, नेकपा (माओवादी केन्द्र) ९ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा र अन्य १९ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रदेशसभा
मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ । प्रदेशसभा १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका छन्।

मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रदेशसभामा कांग्रेस ७ स्थानमा, एमाले ६ स्थानमा अग्रस्थानमा छन् । साथै राप्रपा २, नेकपा (एकिकृत समाजवादी) २ स्थानमा अग्रता कायम गरेका छन् ।


सम्बन्धित खबरहरु