डब्लूएचओका प्रतिनिधिको अपिल – नयाँ भेरियन्टले नेपाल झन् जोखिममा, तत्काल खोप आवश्यक

ओकेखबर संवाददाता २० जेष्ठ २०७८, बिहीबार २०:५० मा प्रकाशित ( साल अघि) ८८१ पाठक संख्या

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाल अझै जोखिमुक्त नभएको भन्दै निषेधाज्ञा खुकुलो नबनाउन र जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड कडाइका साथ लागू गराउन सुझाव दिएको छ । संगठनका नेपाल प्रतिनिधि राजेश समबाजिराओ पाण्डवले भिडियो सन्देश जारी गर्दै यस्तो सुझाएका हुन् ।

परीक्षण गरिएका मध्ये ३५ प्रतिशतमा कोरोना पुष्टी भएको देखिनुले संक्रमणको आकार ठूलो रहेको बताउने भएकाले नेपाल अझै जोखिममा रहेको उनले बताएका हुन् । यस्तै, उनले डेल्टा भेरियन्ट फैलावटको अनुगमन गर्न नसकिएको उल्लेख गरेका छन् । सहरी क्षेत्रमा कोरोना कम भए पनि ग्रामीण क्षेत्रमा बढिरहेको पाण्डवको भनाइ छ ।

‘एशियाली क्षेत्रमा नयाँ भेरियन्ट देखापरिरहेको छ । लकडाउनका निषेधात्मक आदेश खुल्ला हुँदै जाने र तीव्र गतिमा खोप उपलब्ध गराउनका निम्ति भरपर्दो आपूर्तिको व्यवस्था नभएका अवस्थामा नेपालमा संक्रमितको संख्यामा तीव्र वृद्धि हुने अत्याधिक सम्भावना छ,’ उनले भने ।

पाण्डवले ५० शय्या भएका अस्पतालमा तत्कालै अक्सिजन प्लान्ट राख्न सुझाएका छन् । नेपालका अस्पतालमा स्वास्थ्य सामग्री तथा आवश्यकता परेमा जनशक्ति पठाउनसमेत उनले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । पाण्डवले नेपाललाई खोपको अत्यन्तै जरुरी रहेकाले सहयोग गर्न खोप उत्पादक मुलुकहरूलाई आग्रह गरेका छन् । कोभ्याक्सअन्तर्गतको खोप विश्वस्वास्थ्य संगठनले छिट्टै उपलब्ध गराउने उनको आश्वासन छ ।


सम्बन्धित खबरहरु