सामाजिक सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दैछ : विश्वप्रकाश शर्मा

ओकेखबर संवाददाता ३ फाल्गुन २०७७, सोमबार १२:११ मा प्रकाशित ( साल अघि) ६२६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने काम गरिरहेको भन्दै युवा पुस्तालाई सजग हुन आग्रह गरेका छन् ।

सोमबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गरी विरोधका बाबजुद पनि सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर, त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्नु तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ । कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ’ विज्ञप्तिमा जनाइएको छ ।

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्ने विज्ञप्तिमा जनाएको छ । सामाजिक संजालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी भएको कांग्रेसको ठहर छ । यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान गरेको छ ।


सम्बन्धित खबरहरु