फेवातालमा किन घटाइयो पानीको सतह ?

ओकेखबर संवाददाता २५ माघ २०७७, आईतवार ०८:२५ मा प्रकाशित ( साल अघि) १६५६ पाठक संख्या

पोखरा । बेलाबेलामा बाँध फुटेर ताल पानीविहीन हुन्थ्यो। अहिले फेरि एकपटक तालको पानी स्वात्तै घटेको छ। बाँध मर्मत गर्न फेवातालको पानीको सतह घटाइएको छ। फेवातालको पानीको बहाव नियन्त्रण गर्न ४३ वर्ष पहिला बनाइएको बाँध मर्मत गर्न तालको पानीको सतह दुई मिटर घटाइएको हो।

फेवा आफैंमा पूर्ण प्राकृतिक ताल होइन। बैदाममा बाँध बाँधेर पानी थुनेपछि ताल बनेको हो। हर्पन, अँधेरीलगायत स–साना ११ वटा खोल्सीबाट आएको पानी जम्मा भएपछि तालको पूर्ण आकार देखिएको हो।

पानीको बहाव नियन्त्रण गर्ने रबरसिल्ड र डाउनस्टिम साइट मर्मत गर्न शुक्रबार रातिदेखि तालको पानी घटाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्यले बताए। तालको दक्षिणी भागमा रहेको बाँध मर्मत गर्न दुई करोडमा पर्वतको हरिबसु निर्माण सेवा प्रालिले ठेक्का लिएको छ। यो रकमले बाँध र सिँचाइ नहर मर्मत गरिने इन्जिनियर आचार्यले बताए।

तालको पानी घटाइएपछि शनिबार दिउँसोदेखि किनारको भाग हिलाम्मे भएको छ। मर्मत गर्न एक महिना समय लाग्ने इन्जिनियर आचार्यले बताए। फेवा किनारमा राखिँदै आएका डुंगा पनि किनारभन्दा पर सारिएको छ।

तालको पानी घटाइएपछि तालबाराही मन्दिरसम्म आवतजावत गर्न हिलोमा बिछ्याइएका ढुंगा टेकेर जानुपर्ने भएको छ। फेवातालमा २०१८ सालमा बाँधिएको बाँध २०३१ सालमा फुटेको थियो। त्यसको तीन वर्षपछि बनाइएको बाँध पहिलोपटक ठूलो रकम खर्च गरेर मर्मत गरिने भएको हो।


सम्बन्धित खबरहरु