राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना पुष्टि

ओकेखबर संवाददाता १४ कार्तिक २०७७, शुक्रबार ०७:४७ मा प्रकाशित ( साल अघि) ३५९ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) जनाएको छ ।

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही २८ कात्तिकमा र दोस्रो मैत्रीपूर्ण खेल आगामी २ मङ्सिरमा खेल्ने तय भएको एन्फाले जनाएको छ ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


सम्बन्धित खबरहरु