लकडाउनमा महावीर पुनका १३ आविष्कार

ओकेखबर संवाददाता २ कार्तिक २०७७, आईतवार २१:०२ मा प्रकाशित ( साल अघि) ८५२ पाठक संख्या

काठमाडौं ।विश्न नै कोराना भाइरस कोभिड-१९ ले आक्रान्त बन्यो । शक्तिराष्ट्रहरूले समेत कोरोनासँग हार खान थालेका थिए । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), मास्क, स्यानिटाइजरको चरम अभाव भयो । जब नेपालमा कोरोना भाइरस देखियो, त्यसपछि पीपीई, मास्क, स्यानिटाइजरको अभाव भयो ।

हरेक अस्पतालमा पुग्दा स्वाथ्यकर्मीले भन्थे, ‘प्रोपर पीपीई पनि छैन । राम्रो पीपीई त तलदेखि माथिसम्मको एउटै हुन्छ । बुट छैन । भाइजर छैन । क्याप छैन । ल भन्नुहोस् त कसरी काम गरिरहेका छौँ रु कति जोखिम छ । सर्‍यो भने पहिले हामीलाई सर्छ । उहाँहरूको उपचार गर्ने त हामीले हो नि !’

पीपीईबिना नै अस्पतालमा स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचार गरिरहेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा पीपीई बनाउन सुरु भयो । पीपीईबाट सुरु गरेको आविष्कार केन्द्रले महामारीका लागि १३ वटाभन्दा बढी सामग्री निर्माण गरिसकेकेको छ ।

‘यो महामारीमा हामीले के गर्न सक्छौँ रु हाम्रो पाटोबाट पनि केही न केही गर्नुपर्छ भनेर सुरु गरेका हौँ । लकडाउनपछि कोरोनाबाट जोगिने सामग्रीको अभाव भएकाले अस्पतालबाट बनाउन प्रस्ताव आयो । हामीले पीपीईबाट सुरु गरेका हौँ,’ आविष्कार केन्द्रका संस्थापक महावीर पुन भन्छन्, ‘अहिले १३ वटाभन्दा बढी सामग्री बनाइसकेका छौँ । बनाउँदै जाँदा धेरै बनायौँ । आवश्यक मात्रामा अरु पनि थप्दै जान्छौँ ।’
त्रिभुवन विश्वविद्यालयसँगै रहेको आविष्कार केन्द्र २४ सै घण्टा खुल्ला रहन्छ । इन्जिनियरहरू रातदिन नभनी काममा खटिएका छन् । ३० जनाको टोलीले कोभिड( ११ सँग सम्बन्धित सामग्री बनाएका हुन् ।

‘३० जनाको टिम छ । कतिले भोलेन्टियर पनि गर्नुभएको छ । कति समय काम गरियो भन्ने नै छैन,’ केन्द्रका म्यानेजर सुनील बानियाँले भने, ‘रातभर नसुती नै काम गरेका छौँ । लकडाउन भएदेखि अहिलेसम्म निरन्तर जारी राखेका छौँ ।’

निर्माण भएका धेरै सामग्री प्रयोगमा आइसकेका छन् भने केही बनाउने काम भइरहेको छ । ‘विदेशी विश्वविद्यालयको समन्वयमा पनि काम गरेका छौँ,’ उनले भने, ‘धरै हामी आफैँले रिसर्च गरेर काम गरेका छौँ ।’

पीपीई, फेसियल, मास्क, रोबोट, कोरोना टेस्टिङ बुथ, एरोसोल बक्स, भेन्टिलेटर, डेडबडी ब्याग, आइसोलेसन हुड, आइसोलेसन बक्स, यूभीसी लाइट, नसल स्वाबलगायतका सामग्री राष्ट्रिय आविष्कार केन्द्रले बनाएकोे छ ।

आविष्कार केन्द्रले बनाएको सामग्री देशका विभिन्न अस्पतालमा प्रयोग भइरहेको छ ।
-शिलापत्रबाट


सम्बन्धित खबरहरु