भर्चुअल अटिज्म : बच्चाहरूलाई खतरा !

सुरेश अर्याल २७ जेष्ठ २०७७, मंगलवार १३:४५ मा प्रकाशित ( साल अघि) १७६३ पाठक संख्या

विश्व अहिले कोभिड- १९ को सन्त्रासले आक्रान्त छ। लामो समयदेखिको लकडाउनले गर्दा अहिले तपाईं हाम्रा बाबुनानीहरु घरभित्रै थुनिएर बसेका छन् । आफु स्वतन्त्र बन्ने हिसाबले हामीले उनिहरुलाई मोबाईल,ट्याब्लेट,स्मार्टफोन, टिभी, आदि दिएर भुल्याइरहेका त छैनौँ ? सावधान ! विभिन्न अध्ययनहरुका अनुसार लामो समयसम्म स्मार्टफोन, टिभी,ट्याबलेटहरुका स्क्रिनमा घोत्लिरहने बालबालिकाहरुमा भर्चुअल अटिज्म जस्तो खतरानाक रोग देखा पर्न सक्छ ।

 

आखिर के हो त भर्चुअल अटिज्म  ?
बालबालिकाहरुले देखाउने असामान्य प्रकृतिका व्यबहारहरु तथा प्रतिकृयाहरुको अवस्था नै भर्चुअल अटिज्म हो। भर्चुअल अटिज्मलाई अटिज्म स्पेक्ट्रम डिसअर्डरका रुपले पनि चिनिन्छ। बालबालिकाहरुको संचार क्षमताका साथै प्रवृत्तिगत व्यवहारहरुमा देखा पर्ने कमजोरिको अवस्थाका रुपमा यस रोगलाई चिनिन्छ। भर्चुअल अटिज्मको अवस्थामा बालबालिकाहरुले अरुले के सोच्छन्, के महशुस गर्छन् भन्ने जस्ता कुराहरुको ख्याल राख्न असमर्थ हुन्छन् । जसले गर्दा उनिहरुले शब्द, हाउभाउ,अभिनय, छोएर, देखाएर आफ्ना कुराहरु अभिव्यक्त गर्न सक्दैनन् । यस्ता बालबालिकाहरु सकेसम्म आफ्ना अभिभावक, आफन्त, शिक्षक- शिक्षिकाहरुसँग नजिक पर्न चाहन्नन्। र नजिक हुँदा पनि सिधा आँखा जुधाउन खोज्दैनन् । अरुले भनेको नसुन्ने, एक्लै गुनगुनाईरहने,आफ्ना ईच्छा चाहनाहरु कसैसँग पनि सेयर नगर्ने, सामान्य कुरालाई आश्चर्यका रुपमा हेर्ने, अरुको कुरामा वास्ता नगर्नेजस्ता गम्भिर प्रकृतिका समस्याहरु भर्चुअल अटिज्मले निम्त्याउँछ। फलस्वरुप बालबालिकाहरुको मस्तिष्कको विकासमा अवरोध देखा पर्दछ।

फ्रान्सका बाल रोग बिशेषज्ञ डा. एनी लिसे डुकान्डाका अनुसार ‘दिनको धेरै घण्टा स्क्रिन हेर्दा मस्तिष्कलाई विकास हुनबाट रोक्छ र व्यवहार समस्या र सम्बन्ध समस्या उत्पन्न गर्दछ,।’  उनका अनुसार चार बर्षभन्दा साना बालबालिकाहरुमा झन् गम्भिर जोखिम निम्तिन सक्छ। रोमानियाका डा. जोन हटनका अनुसार आवश्यकताभन्दा बढी भर्चुअल बातावरणको उपयोगले बालबालिकाहरुमा यस्तो समस्या देखा पर्न जान्छ।

डाक्टरहरूले पछिल्लो समय अधिक बच्चाहरूको व्यवहारमा असामान्य परिवर्तन देखा परेको बताईरहेका छन्। बढ्दै गएको मोबाईल फोन,सामाजिक सन्जाल, भिडियो प्लेयर आदिको घण्टौँ प्रयोगले बालबालिकाहरुले आफ्नो नाम समेत भन्न नसक्ने, उनीहरू आँखा सम्पर्कबाट टाढिने, र उनीहरूको वरिपरिको संसारप्रति उदासीन हुनेजस्ता गम्भिर समस्याहरु विकराल रुपमा देखा परेको छ। हेफलरका अनुसार ‘कमजोर बच्चाहरूको ध्यान स्वस्थ सामाजिक अन्तरक्रियाबाट टिभी, कम्प्युटर स्क्रिन र इलेक्ट्रोनिक खेलौनातिर आकर्षित हुन्छ।’ २०२० को शुरुमा पेडियाट्रिक्सले प्रकाशित गरेको एक विश्लेषणमा करिब २ बर्षका टिभी र भिडियो हेर्ने र नहेर्ने बच्चाहरुमा गरिएको सर्वेक्षणमा टिभी र भिडियो हेर्ने बच्चाहरू टिभी र भिडियो नदेख्ने बच्चाहरुको तुलनामा बढि अटटिस्टिक जस्ता लक्षणहरू देखाउने गरेको पाइयो। यसरी विभिन्न वैज्ञानीक, स्वास्थ्यविद्, अनुसन्धान आदिलाई आधार मानेर हेर्दा हामीले प्रयोग गर्दै आएका डिजिटल टेक्नोलोजिका पर्दाहरु हाम्रो आँखालाई मात्र नभई मस्तिष्कलाई समेत घातक रहेको प्रष्ट हुन्छ।

डा. दुकाण्डाका अनुसार डिजिटल पर्दामा बालकको दिमागको नाश गर्ने तत्त्वहरु हुन्छन्। यदी समयमै अभिभावकले आफ्ना बालबालिकाको ख्याल गर्न नसके बालबालिकाहरु दिर्घरुपमै मानसिक मन्दिमा जान सक्छन् । यसबाट बालबालिकाहरुको मानसिक तथा शारिरिक पक्षको सन्तुलनका लागि अभिभावकले प्रमुख भूमिका खेल्नुपर्ने यथार्थ स्पष्टै हुन्छ। विश्व स्वास्थ्य संगठन भन्छ : – आफ्नो स्वास्थ्य र उचित मस्तिष्क गठन को खातिर, एक बर्ष मुनिका बच्चाहरु लाई पर्दाको अगाडि राखी जोखिम लिनु हुँदैन। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स का अनुसार ‘बच्चाहरूलाई उनीहरूको स्वास्थ्य र विकासको लागि महत्त्वपूर्ण अन्य गतिविधिहरूमा संलग्न हुन पर्याप्त समय दिन दिनको लागि एक घण्टा भन्दा धेरै स्क्रीन समय हुनुहुँदैन।’

 

अभिभावकहरुले आफ्ना बाबुनानीहरुको शारिरिक तथा मानसिक स्वास्थ्यमा ध्यान दिँदै विकराल रुप लिइरहेको भर्चुअल अटिज्मबाट आफ्ना बालबालिकाहरुलाई सुरक्षित बनाउनु आजको चुनौती हो। जसका लागि निम्न कार्यहरु गर्नुहोस् :

– तपाईंको बच्चासँग दिनदिन धेरै कुरा गर्नुहोस् र कुरा सुन्नुहोस् ।

–  भौतिक सामग्री, खेलौना, र खेलहरू प्रदान गर्नुहोस् ,आफु पनि सँगै खेल्नुहोस्।

– आफु पनि सँगै पढ्नुहोस् ,लेख्नुहोस् ,रचनात्मक कार्य गर्नुहोस्।

– जब तपाईं बच्चाहरूसँग हुनुहुन्छ स्क्रिनहरू प्रयोग नगर्नुहोस्।

– तपाईंको बच्चा वा सानो बच्चालाई फोन नदिनुहोस्।

– चार बर्ष भन्दा मुनिका बच्चाहरूको वरिपरि टिभी बन्द राख्नुहोस्।

– परिवारका सदस्यहरू र हेरचाहकर्ताहरूलाई बुझाउनुहोस् कि यी उपायहरू बच्चाको स्वस्थ विकास, स्थायित्व र कल्याणको लागि किन आवश्यक छ।

– बच्चाहरुलाई सामाजिक कार्यमा सरीक गराउनुहोस् ।

– परिवार, छिमेकी र समाजको आवश्यकतालाई बुझाउनुहोस् ।

 

यि सबै सन्दर्भहरुलाई केलाएर हेर्दा,अभिभावकले बच्चाहरुको आधारभूत विकाससम्बन्धी आवश्यकताहरूको सम्मान गर्न सक्नुपर्दछ। बच्चाहरू बोल्न, तर्क गर्न र महत्त्वपूर्ण सामाजिक सीपहरू विकास गर्न सिक्नको लागि, तिनीहरूलाई मायालु व्यक्तिहरूसँग आमनेसामने कुराकानीको आवश्यकता पर्दछ र उनीहरूको इन्द्रियहरूलाई जतिसक्दो चाँडो प्रयोग गर्न सकिन्छ। अभिभावकहरुले आफ्ना बाबुनानीहरुलाई डिजिटल स्क्रिनबाट टाढा राख्दै मायालु स्पर्श, नियमित व्यायाम, योगा, ध्यान, पारिवारीक तथा सामाजिक वातावरणसँग घुलमिल गराउँदै भौतिक सामाग्रीहरुसँग साक्षत्कार गराउनु जरुरी हुन्छ। आधुनिक डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले निम्त्याउन सक्ने भर्चुअल अटिज्मको सम्भावित खतराबाट जोगिनको लागि एक असल अभिभावकले आफ्ना बाबुनानीहरुको ध्यान मोबाईल टिभी,ल्यापटपबाट टाढा राख्दै रचनात्मक कार्यमा अग्रसर रहन उत्प्रेरित गर्नु नै बुद्धिमत्तापूर्ण ठहरिन्छ।

लेखक सुरेश अर्याल शिक्षक हुनुहुन्छ । 


सम्बन्धित खबरहरु