अभिभावकलाई पत्र

दिनेश अधिकारी २६ जेष्ठ २०७७, सोमबार ०९:५१ मा प्रकाशित ( साल अघि) १५६४ पाठक संख्या

आदरणीय अभिभावक,
न्यानो अभिभादन र मिठो सम्झना ।

विगत केही दशक देखि देशको लागि आत्यावश्यक जनशक्ति उत्पादन गर्दै आएको म एकाएक केही महिनादेखी बेरोजगार जस्तै बनेको छु । विश्वव्यापी फैलिएको कोरोनाको माहामारीले विगत केही समयदेखि निकै बिचलित भएको छु । तै पनि मैले हिम्मत हारेको छैन । आफुसामु आइपरेको यो चुनौतीपूर्ण समयलाइ सकेसम्म पूर्णरुपमा सदुपयोग गर्ने जमर्को गरेको छु । मैले यसलाइ चुनौती भन्दापनि अवसरको हिसावले लिने गरेको छु । जिन्दगीको ३५ औं बसन्त पार गरिसक्दा मैले पहिलोपटक पूर्णरुपमा आफुलाइ एउटा बन्द कोठामा जिवनको अमुल्य समयलाइ बन्दी बनाएर राखेको आभास गरेको छु । सायद यो मैले मात्र होइन हामी सबैले भोगिरहेका छौँ । कतिपय समय कस्ता हुन्छन् भने त्यसले चुनौती संगसंगै हजारौं अवसरहरु पनि बोकेर आएका हुन्छन । सायद यो समय अवसरहरुको खानी खोतल्ने समय पनि हो कि ? खानिलाइ राम्रोसँग उत्खनन् गर्न सके पक्कै अमुल्य कुराहरू पाउने संभावना रहन्छ तर हामी उत्खनन गर्न तिर नलागेर बस्ने हो भने त्यो केवल उजाड डाँडो मात्र हो ।

कहिलेकाही निकै खुसी पनि लाग्छ किनकी मैले सधैंको भागदौडको मेरो दैनिकीबाट केही महिनाको लागि भएपनि आराम गर्ने र आफुलाइ सृजनशील बनाउने अवसर पाएको छु । घरमा आमाबुवा, दाजु, दिदीबहिनी बिरामी पर्दा पनि मेरो फुर्सद छैन भन्ने म, गाउँटोलमा पुजापाठ र बिवाह ब्रतबन्धमा सकेसम्म नझुल्कने म, बैंकमा लाइन बस्न पर्दा हतार भएर सकेसम्म पालो उछिनेर अगाडी जान पर्ने म, बाटोमा मोटर कुदाउँदा अरुलाइ ओभरटेक गरेर हतार हतार उछिन्न पर्ने म, रेस्टुरेन्टमा साथिभाइसंग फुटनि गर्न पर्ने म, परिवारले घुम्न जाउँ न कतै भन्दा झर्कने म, आज एकै ठाउँमा थलिएर बस्नु पर्दाको पिडाको क्षतिपुर्ती सायद अरबौंको लगानिले पनि पुर्ती हुँदैन । म मात्रै होइन अब हामी सबै अझै केही समय यसैगरी बन्दक भएर बस्न पर्ने अवस्था आएको छ । यस्तो परिस्थितिमा मैले यहाँहरु सामु केही कुरा यो बन्द कोठाबाट पस्कने प्रयास गरेको छु ।

अहिले सबैतिर घरमै थुनिएर बसिरहेका विद्यार्थी भाइबहिनीहरुको चिन्ताको विषयले महत्त्वपूर्ण स्थान पाइरहेको हुँदा मैले पनि यसै बिषयलाई यहाँ प्रस्तुत गर्दै छु । हाम्रो सबै दैनिकी ठप्प हुँदै गर्दा खुसिको कुरा चाहिँ के हो भने हामीले कम्तिमा परिवारसंगै बस्ने, सुखदुःख संगै बिताउने, बालबालिकालाई प्रसस्त समय दिने र जिनातिना आफ्ना दिनहरु सहजसंग बिताउने राम्रो अवसर पाएका छौँ । हाम्रो चिन्ता भनेको हाम्रा बाबुनानिहरुलाइ कसरी यो समयमा पठनपाठनमा सरिक गराउने भन्ने छ । वैकल्पिक शिक्षाको खोजिमा हामी सबै लागिपरेका छौं । सरकारले पनि पठनपाठनको लागि विकल्पमा जान अनुरोध समेत गरिसकेको छ । अहिले विभिन्न प्रविधि प्रयोग गरि शहरी भेगमा र केही नगन्य ग्रामीण भेगमा अनलाइन शिक्षाको शुरुवात हुन थालेको देखिएको छ । यति मात्र नभइ रेडियो र टेलिभिजन मार्फत समेत शिक्षा दिने विभिन्न खाले कार्यक्रमहरु शुरु भैसकेका छन् । यसको सहजता र उपलब्धता भने चुनौतीको रुपमा नै रहि रहेको छ । अहिले पनि हामीसंग गतिलो मोबाइल, टेलिभिजन र ईन्टरनेटको पहुँच छैन जसले गर्दा तुरुन्तै सबैको पहुँचमा यो खाले शिक्षा दिन सम्भव देखिएको छैन ।

हामिले अहिले हतार गरेर तुरुन्तै औपचारिक अनलाइन शिक्षा भन्दा पनि हाम्रा बालबालिकाहरुलाइ सिकाउन, बुझाउन र महशुस गराउन पर्ने सयौं अनौपचारिक शिक्षाहरु बाकी नै छ्न जुन जीवन निर्वाहको लागि अत्यावश्यक छ । यस्तो खाले शिक्षा दिन आज हामी सबैले आफ्नो सकृयता देखाउन जरुरी छ ।
हामिले निम्न कुराहरूमा बालबालिकाहरुलाइ अभ्यस्त पार्न सकेमात्र पनि यो समय सिकाइको लागि कोशेढुङ्गा साबित हुन्छ ।

१. आफ्नो बालबालिकालाई घर,समाज,आफन्त, इस्टमित्र र संस्कार को हो ? यसको महत्त्व के हो ? कस्तो खाले सम्बन्ध र पन हुनुपर्छ भन्ने सिकाउनु अत्यावश्यक छ । जुन आजको बालबालिकाहरुमा कमि छ । यसका लागि प्रसस्त समय आवश्यक हुन्छ जुन हामिले अहिले पाइरहेका छौं ।

२. घर आगन, करेसाबारी र भान्साको हरेक काममा सकेसम्म धेरै समय बालबालिकाहरुलाइ सहभागी गराउनु होस् र दैनिकी जीवनको लागि अत्यावश्यक कामहरु आफै गर्न उत्प्रेरित गर्नुहोस् । जुन विद्यालय शिक्षा भन्दा माथी छ । जस्तै : खाना पकाउन सिकाउने, भाडा मोल्न सिकाउने, घर सफा गर्ने, सत्कार सिकाउने, आदि ।

३. तपाईंसंग भएको आफ्नो कला, सीप, र विज्ञता आफ्नो बालबालिका संग साट्ने जमर्को गर्नुहोस् । यदि तपाईंसंग गित गाउने कला छ भने गित गाउन सिकाउनुहोस् । बाँसुरी बजाउने काला छ भने बाँसुरी बजाउन, नाच्ने कला छ भने नाच्न, मादल बजाउने कला भए मादल बजाउन वा यस्तै यस्तै अन्य कुराहरुमा प्रेरित गर्नुहोस् । यो समय यस्ता कुराहरु सिक्नको लागि सुवर्ण अवसर हो ।

४. तपाईंसंग ईन्टरनेटको पहुँच छ भने एक्लो एक्लै घरको फरक-फरक कोठामा वा कुनामा बसेर मोबाइल, टेलिभिजन वा ट्याब हेर्ने भन्दानी बालबालिका संगै बसेर युटुवमा पाइने विभिन्न खाले शैक्षिक भिडियो, उत्प्रेरक भिडियो, विभिन्न परिकारहरु बनाउने सीपमुलक भिडियो आदि देखाउनु होस् । यति मात्र नभई कोर्स बूक संग सम्बन्धि सयौं भिडियो सामाग्रीहरु पनि देखाउन सक्नुहुनेछ जसले बालबालिकाको ध्यान पढाइतिर केन्द्रित गर्दछ र यहाँहरुले पनि केही सिक्न सक्नुहुनेछ ।

५. बालबालिकाहरुलाइ घरमा हस्तलेखन, चित्रकला, मौलिक लेखन जस्ता विभिन्न क्रियाकलाप गर्न लागाउनुहोस् । जसले उनिहरुको स्मरण शक्तिको नि विकास  हुन्छ ।

यसरी माथी उल्लेख गरे अनुसार आफ्ना बालबालिकालाई धेरै कुराहरुमा सामेल गराउने हो भने अनलाइन कक्षाहरु नै पढाउन पर्छ भन्ने पनि छैन । सिकाइ क्रियाकलापमा सहभागी गराउनु नै मुख्य कुरा हो । केही महिना किताबी ज्ञान नै हासिल गर्नु पर्छ भन्ने पनि छैन । त्यसैले आफूसंग भएको ज्ञान, सिप र क्षमतालाइ पुर्ण रुपमा आफ्नो बालबालिका सम्म पुर्याउन सक्नु नै मुख्य उपलब्धि हो । यहि अभियानमा लाग्न म सम्पुर्ण आभिभावक र सरोकारवालाहरुलाइ विनम्र आग्रह गर्दछु ।

दिनेश अधिकारी (नयाँघरे) धादिङ ।


सम्बन्धित खबरहरु