मेरो देश मेरो पहिचान

ओकेखबर संवाददाता २४ जेष्ठ २०७७, शनिबार १०:४५ मा प्रकाशित ( साल अघि) १५७५ पाठक संख्या

एसियाका ठुला देशहरू चीन र भारतको बीचमा हिमालयको न्यानो काखमा विराजित राष्ट्र नेपाल, इतिहासमा पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्म फैलिएको विशाल राष्ट्र नेपाल अङ्ग्रेजी सामराज्यवादको हस्तक्षेपका हिसाबले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म खुम्चिन पुग्यो तापनि विशालराष्ट्र नेपाल इतिहास पल्टाउदाँ अन्य राष्ट्रहरू भन्दा कयौं गुणा फरक छ ।

नेपालदेखि पश्चिमपट्टि रहेका राष्ट्रहरू विदेशी अधीनमा रहँदा पनि नेपाल एक स्वतन्त्र थियो र बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएर पनि स्वायत्त र अखण्ड राष्ट्र रहिरह्यो । पृथ्वीनारायण शाहले एकीकरणका क्रममा काठमाडौं विजय गरेपश्चात् वि. सं. १८२६ मा राजधानी काठमाडौँ सारेसँगै नयाँ नेपाल अधिराज्यको स्थापना भएको थियो । तत्पश्चात् क्रमिक रूपमा राष्ट्र अघि बढिरह्यो।

शास्त्रीय मूल्य र मान्यता एवं धर्म ग्रन्थरू हेर्ने हो भने नेपाललाई प्राचीन भूमिको रूपमा वर्णन गरिएको पाइन्छ। एवं महाभारतको वनपर्वलगायत हिन्दु, बौद्ध र जैनका विभिन्न धर्म ग्रन्थहरूमा यसको वर्णन गरिएको पाइन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल भन्ने गरेको पाइन्छ ।

यहाँ राष्ट्रदेव पशुपतिनाथ, राष्ट्रमाता गुह्येश्वरी, दक्षिणकाली, पाथीभरा, मनकामनालगायतका विभिन्न देवदेवीको उपस्थितिका कारण यसलाई पवित्र भूमि मान्ने गरिन्छ। त्यस्तै राष्ट्र र अन्तरराष्ट्रमा ख्याति कमाएका महान् व्यक्तिहरूको जन्मले पनि यो भूमि विभूषित छ । यो शान्तिका अग्रदूत गौतम बुद्ध, भृकुटी जनक, सीतालगायतका विभिन्न प्रतिष्ठाका केन्द्र एवं विविध देशभक्त र सहिदहरूको जन्मभूमि हो । यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा विराजमान छ, यहाँ विश्वलाई सभ्यताको पाठ सिकाउने हाम्रो हिमसंस्कृतिका सूचक अनेक हिम–शिखरहरू हाँसिरहेका छन्, यहाँ स्वच्छता र शुद्धताका प्रतीक अनेक नदीहरू कलकल बगिरहेका छन्, यहाँ हिमकणहरूलाई स्पर्श गर्दै मन्द मन्द वायु बहन्छ, यहाँ चराचुरुङ्गीको मनमोहक चिरबिराहटले प्रतिक्षण प्रकृतिप्रेमीको चित्त आकर्षित गर्दछ, यहाँ प्रत्येक वनस्पतिमा औषधीय गुणहरू छन् र यहाँका रङ्गीबिरङ्गी बास्नादार फूलहरूले सर्वत्र सौन्दर्यको प्रसार गरिरहेका छन् ।

नेपाल आफैँमा अति नै गौरवशाली इतिहास बोकेको राष्ट्र हो । आजसम्म पनि कुनै देशको अधीनमा नरहेको यस राष्ट्रमा वीरताले नै परेड खेलेको छ । सपूत जन्माउन सफल यहाँका सबै आमाहरू सन्तानहरूलाई देशका लागि बलिदान हुन उक्साउँछन् । त्यसैले त वीरमाताका रूपमा चर्चित छन् । त्यस्ता माताका वीर पुत्रहरू हिमालयको शिखरझैँ आजसम्म कसैका सामु शिर नझुकाई अटल रूपमा अघि बढी देशको रक्षाको निम्ति खटिएका छन्।
नेपाल मित्रता, समझदारी कूटनीतिक हिसाबले सफल राष्ट्र मानिन्छ।

अन्त्यमा, हिमालयका सेता फेटा गुथेर पहाडको हरियो भोटो र तराईको पहेँलो कछाड लगाई बसेको मेरो देश अनादि कालदेखि नै स्वतन्त्र थियो, स्वतन्त्र छ र स्वतन्त्रै रहिरहनेछ । यसप्रति गिद्धे दृष्टि लगाउनेको आँखा झिक्न हामी नेपाली वीर सपूतहरू सदैव तत्पर छौँ ।

।।जय नेपाल।।


सम्बन्धित खबरहरु