जनताले अपेक्षा गरेको नेतृत्व

देवीप्रसाद अधिकारी २१ जेष्ठ २०७७, बुधबार ०९:२४ मा प्रकाशित ( साल अघि) १२३६ पाठक संख्या

नेतृत्वको सवालमा इर्मसनले भनेका छन् बनिसकेको बाटो पछ्याउने होइन तिमी आफ्नो बाटो हिड जहाँ अरु पनि हिड्न सकुन । अफसोच आज हाम्रो वरिपरि जति पनि नेतृत्व छन् केवल केहिलाई छोड्ने हो भने ती सबै एकै ड्याङका मूला जस्ता भएका छन् । लाग्छ ती सब आफू र आफ्नाका लागि मात्र नेता भएका हुन् । देखाउनको लागि जे गरेता पनि लाग्छ यिनीहरु कमाउनकै लागि नेता बनेका छन् । लगभग उनान्सय प्रतिशतले एउटै बाटो समातेका छन् । इर्मरसनले भने जसरी हाम्रो परिवेशमा आफ्नो ट्र्याक खन्ने नेता भेट्टाउन समुन्द्रमा मोती टिप्न जस्तै भएको छ ।

नेतृत्व गर्नुको एउटै उदेश्य समाज परीर्वतन गर्नु हो । समाज सेवा नेताको कर्म हो । अरुलाई सेवा गर्नु उस्को परम दायीत्व हो । निष्पक्ष हुनु उसको धर्म हो । इमान्दारिता नेतृत्वमा हुनुपर्ने सर्वश्रेष्ठ गुण हो । नेतृत्वमा लगावको पनि उत्तिकै भूमिका रहन्छ । कर्मशीलता, क्षमाशीलता, शुद्धआचरण, अनुग्रहिता आदि नेतामा नभइ नहुने गुण हुन् । सद्भाव र समन्वय अर्को महत्वपूर्ण पक्ष हुन् । अठोट र लगाव नेताका लागि उत्तिकै आवश्यक छन् । दूरदृष्टि र अध्ययनशीलता नेताका गहना हुन् ।

नेता बाटो देखाउँदछन् कार्यकर्ता पछि लाग्दछन् । यी दुईमा फरक के छ त भन्ने सवालमा चर्चित एपल कम्पनीका संस्थापक स्टीभ जब्बसको मतलाई मान्ने हो भने नेता र कार्यकर्ता फरक हुने मूल कुरो इनोभेशन (अन्वेसण) हो । नेता इनोभेटीभ हुन्छन् अरु फलोअर । इनोभेटिभ हुनु भनेको जहिले पनि नयाँ नयाँ कुराको खोज अनुसन्धानमा समय दिनु वा लागि पर्नु हो । कुनै पनि बिषय वस्तुलाई नयाँ ढंगले हेर्न सक्ने र नवीनतम दृष्ट्रिकोण राख्न सक्ने क्षमता नै व्यत्तिको अन्वेशणात्मक गुण हो । नेता यहि गुणको धनी हुन्छ भने कार्यकर्ता सोहि व्यक्तित्वलाई पछ्याउछन् ।

नेताको अर्को सर्वश्रेष्ठ गुण भनेको दूरदर्शिता हो । जोसँग भिजन छ ऊ समय सापेक्ष बन्न सक्दछ अन्यथा ऊ आफै समयको चक्रव्यूहमा फस्दछ । हुन त समय भन्दा बलवान केहि छैन तर पनि भीजनरी मान्छे समय संगै हिड्न सक्दछ । अरुमा पनि परिर्वतनको चेतना भर्न सक्दछ । त्यसैले होला थिओडोर हेन्सबर्घले भने – नेतृत्वको सार (इसेन्स) भनेको तिमीसँग हुनु पर्ने भीजन हो । तिमी अनिष्चित कर्नाल फुक्न सक्दैनौ । हुनपनि हो असान्र्धविक समयको वीगुलले सचेतना भन्दा पनि दुर्घटना निम्त्याउने खतरा बढाउँछ ।

जोन अडामस्को भनाईलाई सापटी लिने हो भने नेता त्यो हो जसको कामले अरुलाई बढि भन्दा बढि सपना देख्न, अध्ययन गर्न र अझै केहि गर्न प्रेरित गर्दछ । नेत्तृत्वले गरेको कर्म अरुको लागि लोभ लाग्ने खाललको हुनु पर्दछ । नेता एउटा निष्काम कर्म योगि हो । ऐतिहासिक जति पनि नेता छन् जस्को युग युग सम्म चर्चा हुन्छ र भैरहेको छ त्यी सबै कर्म योगी नै थिए । नेताले गरेको कामले आलोचना भन्दा पनि प्रेरणा कमाओस् । अशल नेतालाई कुनै सिमित सिद्धान्त , गुट, झुण्डले भन्दा पनि कर्मले चिनाउँदछ । सिद्धान्तलाई व्यवहारमा उतार्नु नै नेत्तृत्वको कर्म हो । त्यसैले नेता कर्मवीर हुनुपर्दछ ।

नेताले आफू र अरुलाई आदर गर्नु पर्दछ । अरुको तर्क सुन्ने, बुझ्ने अनि मात्र प्रतिक्रिया गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ । नेत्तृत्वमा पुगें शक्ति आर्जन गरें भन्दैमा अरु केहि होइनन् म नै सर्वेसर्वा हुँ । मेरा कुरा मात्र अरुले सुन्नु पर्दछ भन्नु अभिमान हो । त्यो अभिमानको नेत्तृत्व दिर्घकालीन रहदैन । जति सक्दो बढि आफूलाई त्यो शक्ति दिलाउने कार्यकर्ता र आम जनमानसको सम्मान गर्नु पर्दछ । पटक पटक शक्ति र पदमा पुग्ने अवसर जो कोहिलाई मिल्दैन । जसले त्यसकाे सही सदुपयोग गर्न सक्दैन ऊ इतिहासमा नालाएक पात्र बन्दछ । आज जति पनि नेताको नाम पुकारिन्छ ती सबै आफू र अरुलाई सम्मान गर्न सिकेका सिद्धहस्त  माहापुरुष हुन् । नेल्शन मन्डेला र गणेशमान सिंह यस्का ज्वलन्त उदाहरण हुन् जस्ले सदैव अरुलाई सम्मान र अवसर दिए । मण्डेला भन्ने गर्थे खासमा नेत्तृत्व पछाडि बसेर गर्ने र अरु सक्षम व्यक्तिलाई अगाडि सार्ने हो भने अझै बढि प्रभावकारी परिवर्तन गर्न सहज हुन्छ ।

महान नेत्तृत्वले महान व्यत्तित्वलाई आर्कषण गर्दछ । यो दार्शनिक गोथेको उद्गार हो । हाम्रो जनजिब्रोमा रहेको ‘जस्तो आफू उस्तै च्यापु’ जस्तै मान्छेले छान्ने आफ्नो कउटरी (दौतरी, गुट, सहयोगी वा सल्लाहकार) का कारण पनि उस्को नेत्तृत्व क्षमतामा असर गर्दछ । ऊ यदि पढीत, इमान्दार, निस्पक्ष, निस्कलंक छ भने उस्ले छनोट गर्ने व्यत्ति स्वाभाविकरुपमा उस्तै हुन्छ । अध्ययनले के देखाएको छ भने नेता आफ्नो भन्दा कयौ गुणा बढि आफ्ना वरीपरीका कारणले बिग्रीएका छन् । त्यसैले नेताले यी कुरामा ध्यान दिन जरुरी छुन्छ ।

कुनै पनि काल खण्डमा नेत्तृत्व गर्न सहज हुदैन । समय र परिस्थितिले मात्र नेता जन्माउने हैन । व्यक्तिको आँट, क्षमता, लगनसीलता, साहस, इच्छा शक्त्ति नै नेत्तृत्वमा पुग्न सक्ने भर्याङ हो । अपसोच हाम्रो परिस्थितिमा यो उल्टो भएको छ । यहाँ चाप्लुसी, चाकडी, बल, धन र नातासम्बन्धको आधारमा नेत्तृत्व प्रदान गरिन्छ । यस प्रथाको निर्मूलीकरण हुन जरुरी छ । जन अपेक्षा र समयको आवश्यकतालाई आत्मसात गर्ने नेता चाहिएको छ । निष्पक्ष, इमान्दार र समजदार नेत्तृत्व चाहिएको छ । आफ्नो कुरा बगबगाउने, झुण्डको पछाडि लाग्ने, कमाउधन्दाका मान्छेले घेरिने भन्दा असली जनताको कुरो सुन्ने, पीर मर्का बुझ्ने नेता चाहिएको छ । गुट, उपगुट, झुण्ड, भ्रष्ट्रचार, सुरा, सुन्दरीमा लिप्त भन्दा पनि समाज परिवर्तनको खातिर लगनसील, अध्ययनसील र दूरदृष्टीयुक्त नेता चाहिएको छ । एउटा नेता जीवनपर्यन्त हैन उस्को क्षमता र आवश्यकता रहुन्जेलमात्र हुनु पर्दछ । ताकी अरु सक्षम व्यक्ति उत्पादन गरेर हस्तनन्तरण गरोस् । एउटा नेताले युग बदल्न सक्छ । आज हामीलाई हाम्रो पहिचान स्थापित गर्ने युग बदल्ने नेता चाहिएको छ ।

लेखक देवीप्रसाद अधिकारी नीलकण्ठ बहुमुखी क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ ।


सम्बन्धित खबरहरु