बढ्दो पराधिनता घटाउने उपयुक्त समय

नवराज सापकोटा १४ जेष्ठ २०७७, बुधबार १४:५० मा प्रकाशित ( साल अघि) ८१४ पाठक संख्या

युगौदेखि स्वतन्त्र रहदै हालसम्म आइपुगेको विश्वमै दुर्लभ देश नेपालमा कमजोर बन्दै गएको राष्ट्रियताको नारा हिजोआज बुलन्द भइरहेको छ । दशकौदेखि हामीलाई दबाबमा राख्दै आएको भारतले आज हाम्रो भुमि कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा सेनाले परेड खेलिरहेको मात्र होइन मानसरोवर जाने सडकमार्ग नै उद्घाटन गरिसकेको सन्दर्भमा सिंगो देश राष्ट्रियताको सबालमा एक भइरहेको छ । मुख्य राजनीतिक दलहरु एकमत भइरहेको बेलामा हाम्रो सिमामा अतिक्रमित भएको भुभाग आफ्नो अधिनमा ल्याउने बेला आएको छ । जनदबाब चुलिएको छ । आमसञ्चारको भुमिका सराहनीय छ । यसको लागि सरकारले यथासीघ्र पहल गरोस् ।

यसरी कोरोनाको कहरबीच राष्ट्रियताको चर्चा एकातिर हुदै गर्दा पराधिनता बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ । हामीहरु प्राचीनकालदेखी आत्मनिर्भर थियौं र त स्वाधीन र स्वतन्त्र थियौं । अंग्रेजहरुले आँखा गाड्दैगर्दा असफल गराउदै स्वतन्त्र नै रहँदै आयौं । इतिहासमै स्वतन्त्र मुलुक के आज पनि स्वतन्त्र छ त ? यो प्रश्न जन्मिएको छ । तर आज हामी पुँजीवादको नाममा, आर्थिक क्रान्तिको नाममा लाग्दै गर्दा पराधिन बन्दै गएको तथ्यलाई नकार्न सकिंदैन । त्यसमा पनि भारतसंग हाम्रो निर्भरता बढ्दै गएको छ । भारतसंगको व्यापारमा हुने ६५ प्रतिशत भन्दा बढी आयात निर्यातको तथ्यले यसलाई झनै पुष्टि गर्दछ । आयात निर्यात अनुपात हेर्दा ९१.१ः८.९ रहेको देखिन्छ । यस तथ्यले नेपालको उत्पादन घट्दै गएको र पराधिनता बढ्दै गएको स्पष्ट भएको छ । हाम्रो देशका मुख्य नदीहरु भारतले आफ्नो कब्जामा पारिसकेको छ । साथै हाम्रो हजारौं खोलानालाहरुको अर्बौ सम्पत्ति त्यसै खेर गइरहेको छ ।

हामी वार्षिक खर्बौंको तेल भारतबाट निर्यात गरिरहेका छौं । नुनदेखि सुनसम्म हामीले भारतबाटै निर्यात गरिरहेका छौं । हाम्रो स्थानीय जातका बीउबीजन छोडेर भारतीय हाइब्रिड जातका बीउबीजनको भर परिरहेका छौं । ती धान, मकै, गहुँ, तरकारीका सबै भारतबाटै आयात हुँदै गर्दा हाम्रा लोकल बीउ लोप भइसके । हामीले खनजोतको लागि प्रयोग गर्दै आएको गोरु, हलो जुवालाई ट्रयाक्टरले प्रतिस्थापन गर्दै गइरहेका छौं । अब बीउबीजन र कृषिऔजार भारतले हामीलाई नदिने हो भने हाम्रो हालत के हुन्छ होला? हाम्रो घरगाउँमा युवा जनशक्ति नहुँदा भएका जग्गा बाँझिइरहेका छन् । कैयौं फाँटहरुसमेत बांझो राखेर बोरा घिसारिरहेका छौं । हामीले अर्गानिक र प्राङ्गारिक मलको प्रयोगलाई कम गर्दै रासायनिक मलको प्रयोगलाई बढावा दिदै आइरहेका छौं । हाम्रो देशमा नै घरेलु तथा साना उद्योगको सम्भावना हुँदाहुँदै चालु रहेका उद्योगधन्दा समेत बन्द गरिरहेका छौं । हाम्रो भुमिमा रहेका सयौं सम्भावित खनिज पदार्थहरुको अध्ययन अनुसन्धान र उत्खननको लागि प्रयत्न गरेका छैनौं त्यसको लागि समेत विदेशीको मुख ताकिरहेका छौं ।

हाम्रो गाउँ अहिले वृद्धवृद्धाहरु र बालबालिकाको आश्रयस्थल बन्दै गएको छ । लाखौं युवाहरु रगतपसिना गरेर खाडीको तातोले शरीरको छाला खुइलाउदै आफ्नो परिवारबाट टाढा पुगेका छन् । उनीहरुको नि बाध्यता छ चुलो जसरी नि बाल्नुछ । अब ती विदेशिएका लाखौं दाजुभाइ पनि बेरोजगार भइसके कोरोनाको कारणले । ती जनशक्तिलाई नेपाल फर्किंदै गर्दा कहाँ व्यवस्थापन गर्ने हो सोच्ने बेला आएको छ ।
झण्डै ६५ प्रतिशत मानिस कृषि पेशामा आवद्ध हाम्रो कृषि बजारबाट धेरै खाद्यान्न निर्यात हुनुपर्ने हो तर हाम्रो आयात दशौं गुणाले बढी देखिन्छ जसको कारण हामीलाई लज्जाबोध भइरहेको छ । यसले हामी निर्वाहमुखी खेतीमा मात्र रहेको स्पष्ट हुन्छ । कुल गार्हस्थ उत्पादनमा जम्मा २९ प्रतिशत हिस्सा कृषिले बोकेको छ । जहाँ रेमिट्यान्सको हिस्सा बढी छ । अब त्यो हिस्सा स्वाट्टै घट्ने देखिन्छ । जसको असर राष्ट्रिय बजेटमा पर्नेछ । रेमिट्यान्सले धानेको बजेट कुनैदिन अपाङ्ख बन्ने निश्चित छ । जहाँ कृषि नै नेपालको निर्विकल्प आधार हो ।

नेपालले पटकपटक नाकाबन्दी भोग्दै आएको छ । २०७२ सालको नाकाबन्दीमा चेत खुलेका हामी नेपाली आज फेरी पुनः भारतीय खाद्यान्न, तेल, औषधी महँगोमा खरिद गर्नका लागि खुसीका साथ लामबद्ध हुँदैछौं । आज फेरी सीमा विवादले भारतले जुनसुकै बेला नाकावन्दी गर्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । यो विषम परिस्थितीलाई हामीले बेलैमा सोचेनौं भने हामी भारतसामु लम्पसार पर्नुपर्ने दिन आउन सक्छ । अहिले कोरोनाको कारण गाउँ फर्केका युवाहरुले वर्षौंदेखि बांझिएका जमिन खोस्रिएर कृषिकर्मलाई जोड दिनु सराहनीय छ । तर त्यसले निरन्तरता पाउने सम्भावना कमै देखिन्छ ।

हामीले बायोग्याँस, सोलार र जलविद्युतलाई प्रबद्र्धन गर्दै आयातित खनीज तेलको प्रयोगलाई घटाउदै जान सकिन्छ । हाम्रो बाझिएका खोरियामा स्थानीय बीउबीजन र अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने दिन आएको छ । कृषि क्षेत्रमा अन्तरनिर्भरता बढाउनको लागि तरकारी, अन्नबाली, फलफुल, तेलहन लगायतका बालीको लागि उपयुक्त क्षेत्र अनुसन्धान गरी सोहीअनुसारका कृषकमुखी कार्यक्रम ल्याउनु जरुरी छ । आधुनिक खेतीप्रणालीलाई प्रोत्साहन गर्दै माछा, मासु, दुध, अन्नबाली जस्ता सम्पूर्ण खाद्यान्नमा अन्तरनिर्भर बढाउन सकिन्छ । हाम्रो खेर गइरहेका जडिबुटीहरु, सिस्नो, रातो च्याउ, टाँकीका मुन्टाहरु, गुर्जो, कुरिलो, अदुवा, टिमुर, अलैंची जस्ता विभिन्न वनौषधी हरुको पहिचान अनुसन्धान र व्यावसायिक खेतीको लागि प्रबद्र्धनात्मक कार्यक्रमहरुमार्फत विभिन्न औषधी कम्पनी सञ्चालन तथा पोषणयुक्त खानेकुरा उत्पादन गर्नसक्नुपर्छ । बीउबीजनको अनुसन्धान र प्रयोग सुरु गरिनुपर्छ । विभिन्न खनीज सामग्रीको उत्खनन् सुरु गरिनुपर्छ । प्रकृतिले दिएको अनुपम उपहार यो भुमीको प्रयोग जति गर्नसक्यो त्यति नै उत्पादन बढ्दै जानेछ । पराधिनता घट्दै जानेछ । स्वतन्त्र र स्वधीन भएको महसुस त्यतिबेला पक्कै हुनेछ । जय कृषि, जय स्वाधीनता, जय देश ।

लेखक नवराज सापकोटा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङमा उपाप्राध्यापक हुनुुहुन्छ ।


सम्बन्धित खबरहरु