अम्फान आँधीका कारण बङ्गलादेश र भारतमा ८४ जनाको मृत्यु

ओकेखबर संवाददाता ९ जेष्ठ २०७७, शुक्रबार ०७:२९ मा प्रकाशित ( साल अघि) ३८१ पाठक संख्या

एजेन्सी । भारत र बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ ।

सन् १९९९ देखि अहिलेसम्मको सवैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ । आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रुख बोट विरुवाहरु पनि नष्ट भएका छन् ।

भौतिक संरचनामा क्षति पुगेकोले प्रभावित क्षेत्रमा विद्युत, पानी, सञ्चारलगायतका सेवाहरु पनि अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधीबाट प्रभावित भएको र पाँच लाख मानिसले घर गुमाएको जनाएको छ ।

घटनामा परेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ । अधिकारीहरुले दिएको जानकारी अनुसार भारतको पश्चिम बङ्गाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिइन् ।

उनले भनिन्, ‘यति ठूलो र विनाशकारी आँधी मैले अहिलेसम्म देखेकी थिइन ।’ आँधीको प्रभाव परेको बङ्लादेशमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मौसम पुर्वानुमान राम्रो भएकाले लाखौ मानिसलाई उद्धार गर्न सफल भएको र मानवीय क्षति कम भएको उनीहरुको भनाई छ ।


सम्बन्धित खबरहरु