अमेरिकामा धेरै संक्रमित देखिनुलाई ‘सम्मानको पदक’ का रुपमा लिन्छुः ट्रम्प

ओकेखबर संवाददाता ७ जेष्ठ २०७७, बुधबार ०७:०६ मा प्रकाशित ( साल अघि) ९६९ पाठक संख्या

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमित सबैभन्दा धेरै देखिनुलाई ‘सम्मान’ का रुपमा चित्रित गरेका छन् ।

ह्वाइट हाउसमा उनले भनेका छन्, ‘मैले यसलाई वास्तवमै सम्मानको रुपमा हेर्छु, किनकी यसले हाम्रो परीक्षण अरुको भन्दा अति राम्रो छ भन्ने देखाउँछ ।’

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक सोमबार बोलाएका ट्रम्पले आफूहरुको परीक्षण धेरै रहेको बताएका हुन् ।

उनले पत्रकारसँग भनेका छन्, ‘जब तपाईँहरुले अमेरिकामा संक्रमितको संख्या विश्वमै सबैभन्दा धेरै छ भन्नु हुन्छ, त्यो यसकारण भएको हो कि हामीले अरु सबैले भन्दा धेरै परीक्षण गरेका छौँ ।’

उनले भने, ‘तसर्थ जब तपाईँहरुले धेरैमा संक्रमण भएको भन्नुहुन्छ, मैले त्यो रुपमा हेर्दिन, म त्यसलाई सम्मानको रुपमा लिन्छु, यसको अर्थ हाम्रो परीक्षण अति राम्रो छ ।’

अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख २७ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९१ हजार ८ सय भन्दा बढी छ ।


सम्बन्धित खबरहरु