प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई जना घाइते

ओकेखबर संवाददाता २८ बैशाख २०७७, आईतवार १०:१६ मा प्रकाशित ( साल अघि) ७६२ पाठक संख्या

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।

ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।

सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी करिब ६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो ।

प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

प्रदेश सरकारको २० लाख र नगरपालिकाको पाँच लाख साझेदारीसहित २५ लाख रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माणकार्य भइरहेको थियो ।


सम्बन्धित खबरहरु