किम जोङ–उन २० दिनपछि सार्वजनिक भए

ओकेखबर संवाददाता २० बैशाख २०७७, शनिबार ०६:३९ मा प्रकाशित ( साल अघि) १३६६ पाठक संख्या

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सीका नुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् ।

समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए)का अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्।

केसिएनएका अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ ।

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ । त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ ।

तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उनी ‘जीवित र स्वस्थ’ रहेको बताएका थिए ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ ।

नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् ।


सम्बन्धित खबरहरु