विभिन्न समयमा देखिने महामारीले मानव जीवनमा उथलपुथल नै मच्चाइरहेको छ । यहीक्रममा नेपालको छिमेकि राष्ट्र चीनको वुहानबाट डिसेम्बरमा शुरू भएको कोरोना भाइरसले आज विश्व समुदाय नै त्रसित बनिरहको छ ।कोभिड १९ले पनि नेपालमा प्रत्यक्ष असर पारि नै रहेको छ । बिरामीको पहिचान , परीक्षण तथा सचेतनामूलक कार्यक्रमको सञ्चालन , नियन्त्रणका लागि नेपाल सरकार तदारूकताका साथ अघि बढिरहेको पनि छ ।
नेपालमा हालसम्म सक्ंमीत सङ्ख्या ५७ पुगिसकेको छ भने यीमध्ये १६ जना निको भइ घर फर्किसकेका छन् । हालसम्म विश्वमा मृत्यु हुनेको सङ्ख्या २ लाखभन्दा बढी नाघिसकेको छ त यसले २ सय १३ देशमा संक्रमण फैलाइसकेको छ । नेपालमा त अर्थतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्र सबै ठप्प नै भइसकेको छ । अहिले नेपालमा रहेका ३५ हजार ५५ वटा विद्यालयका करिब ७० लाख बालबालिकाहरू घरमा नै बस्नुुपरेको छ । नयाँ वर्ष २०७७ मा नयाँँ भर्ना पनि प्रभावित बनेको छ । चैत्र ५ २०७६ देखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै शैक्षिक संस्था बन्द गराएका थिए ।
त्यसो त ४ लाख ८२ हजार ७ सय ७ बालबालिकाहरूले वर्षभरि तयारी गरेको एसईए परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको अवस्था छ । यसलाई सञ्चालन गर्न अहिले वर्तमान परिस्थितीमा सम्भव छैन । उच्च शिक्षाअन्तर्गत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत १ हजार ४ सय २५ कलेजहरूमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरू घरमा नै थन्किनुपरेको छ । यसैगरी यही वैशाख ८ र २१ गतेदेखि शुरू हुने कक्षा १२ र ११ को परीक्षाको अन्तिम तयारीमा रहेका कुल ९ लाख ६२ हजार विद्यार्थीहरू समेत अलमल परेका छन् । कोरोना भाइरसका कारण आम विद्यार्थीहरू आफ्नो पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्तामा छन् । अझ भन्नुपर्दा काठमाडौंजस्तो महँगीमा कोरोना भाइरसले हजारौं हजार कामविहिन विद्यार्थीहरू अलपत्र परेका छन् । कयौं विद्यार्थीहरू आफ्नो गाँउघर जान पनि नसकेको अवस्था सिर्जना भएको छ । अहिले के खानु र भरै के खानु ? यस्तो अवस्थामा कैयन विद्यार्थीहरू अलपत्र बनिरहेका छन् । केही समय अघिसम्म विद्यार्थीको हक र अधिकारको कुरा गर्ने विद्यार्थी संगठनहरू अहिले गुमनाम छन् ।
नेपालको संविधान २०७२ ले पनि शिक्षालाई मौलिक हक र आधारभूत शिक्षालाई पूर्ण त सार्वजनिक मानेको छ । तर वर्तमान परिस्थितिलाई नियाल्दा नेपाल सरकारले विद्यार्थीको अधिकार कही न कही हनन भएको महसुस गर्न सकिन्छ । पहिला पहिला पनि बन्द, हड्तालका कारण सिकार बनाइने शिक्षण संस्था नै थिए । शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असरले विद्यार्थीको भविष्य मात्र बिग्रदैन सिंगो समाज र राष्ट्र पनि प्रभावित हुनपुग्छ । यदि नेपाल सरकारले वर्तमान परिवेशमा कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरलाई नसुधार्ने र अन्य विकल्प नखोज्ने हो भने बालबालिकाहरू अरूको लहलहैमा लागेर होस वा अन्य गतिविधिमा केन्द्रित बनेर होस पढ्ने संस्कृति लगभग हराउँदै जानेछ । त्यसैले अहिलेको परिस्थितिमा मात्र ध्यान केन्द्रित राख्न र झन भयावह बनाउनु उचित देखिदैन । त्यसैले लामो समयसम्म विद्यालय र शैक्षिक संस्था बन्द गरिराख्नुभन्दा पनि उपायको खोजी गरिनुपर्छ । नत्र भोलिका कर्णधारहरूको भविष्य अन्धकार बन्न सक्छ ।
कोरोना भाइरसका कारण अहिले नेपाल सरकारले शिक्षालाई केन्द्रित गरेर पठनपाठनलाई भर्चुअल कक्षामार्फत सञ्चालन गर्नुपर्ने भन्दै एउटा समिति पनि बनाएको छ । उक्त समितिले पनि ६ वटा उप समिति बनाई तत्काल र भविष्यमा गर्नुपर्ने आवश्यक कामहरूको बारेमा शिक्षा मन्त्रालयलाई सुझाव दिने गरेको छ । तर विडम्बना मन्त्रालयले कोरोना भाइरसले शिक्षा क्षेत्रमा परेको समस्या समाधान गर्न सकेको छैन । शिक्षा मन्त्रालयले पनि भर्चुअल कक्षामा रकम खर्च गर्न सकिने बताउँदै आएको छ । भर्चुअल कक्षा कम्प्युटर र इन्टरनेटको माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने भएकाले हाम्रो देशको सन्दर्भमा वर्तमान परिवेशमा कतिको सम्भव छ भनेर सोच्नु पनि जरूरी छ ।
शिक्षा क्षेत्र अहिले त गुणस्तरीय बन्न सकेको छैन न त शिक्षा प्रणालीमा सुधार नै आउन सकेको छ । जसले गर्दा वर्तमान र भविष्यमा राज्यले बेरोजगार नागरिक मात्र उत्पादन गरिराखेको छ । नेपालको शिक्षा क्षेत्र र यसभित्रको डरलाग्दो संकटको घडीमा नेपालको शिक्षा प्रणाालीलाई अझ खस्कन नदिन सबैले ध्यान दिनुपर्छ भन्ने गम्भीर सिकइ र प्रेरणाका पनि हो । त्यसो त समयमा नै सरकारले कार्ययोजना बनाउन सकेन भने शिक्षा क्षेत्र लामो समयसम्म माथि उठ्न असम्भव छ । हाम्रो देशको विद्यार्थीको ठूलो सङ्ख्यामा आर्थिक अभाव र दबाब बढ्नेछ । यसको छिटोभन्दा छिटो उपाय खोजिनुपर्छ ।