कर्मचारीले नै अस्पतालको सामान चोरेको भिडियो सार्वजनिक, छानबिन समिति गठन

ओकेखबर संवाददाता १६ बैशाख २०७७, मंगलवार ०८:२१ मा प्रकाशित ( साल अघि) ६८५ पाठक संख्या

चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरुले नै समान चोरेको सिसिटिभी फुटेज बाहिरीको छ ।
अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको हो ।

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।

अस्पतालभित्र रहेको पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी छानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ ।

भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गएको चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णयसहितको सम्झौता भएको थियो । वैशाख १ गते दिउँसो मात्र भरतपुर अस्पतालले सामानहरुको विवरण बुझेको थियो । तर चैत ३० गते राति साढे ९ बजेको समयमा कर्मचारीले सामान उठाएका थिए । तर उठाएका सामान कहाँ पुगेका छन् भन्ने अहिलेसम्म खुलेको छैन ।

रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । अस्पतालमा काम गरिरहेका आरोपी तीनै जना कर्मचारीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ ।


सम्बन्धित खबरहरु