अलपत्र नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले पहल थाल्ने

ओकेखबर संवाददाता ८ बैशाख २०७७, सोमबार १९:०३ मा प्रकाशित ( साल अघि) ४५९ पाठक संख्या

काठमाडौं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) का संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ ।

कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही नेपाली बिचिल्लीमा परेको र यही अवस्था जारी रहे थुप्रै नेपाली अप्ठ्यारोमा पर्ने भन्दै सङ्घले स्वदेश फर्काउने रणनीति तय गर्न लागेको हो ।

सङ्घले गठन गरेको ‘कोभिड–१९ उच्चस्तरीय समिति’को बैठकमा सहभागीले विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिकरुपमा बस्दै आएका नेपालीका अवस्थाबारे गम्भीर चिन्ता प्रकट गरेका छन् । साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत मुलुकमा विद्यार्थी र खाडी क्षेत्रका श्रमिक कोरोना भाइरसबाट बढी प्रभावित भएका छन् । तत्काल करिब ५० हजार नेपालीले स्वदेश फर्कने चाहना राखेको सङ्घको अनुमान छ ।

 

यद्यपि, सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म गैरआवासीय नेपालीलाई यथास्थानमा सुरक्षित रहन अनुरोध गरिसक्नुभएको छ । विश्वका धैरैजसो मुलुक हाल ‘लकडाउन’को अवस्थामा छन् । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको करार अवधि सकिएको छ र उनीहरु घर फिर्ता हुनका लागि पर्खेर बसेका छन् । सङ्घले अप्ठ्यारोमा परेका र नेपाल फर्कन अतिआवश्यक भएका नेपालीलाई तत्काल नेपाल फर्कने वातावरण बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको पनि ध्यानाकर्षण गराइसकेको छ ।

 

यसका अतिरिक्त नेपाली श्रमिक काम गर्ने कतिपय कम्पनी बन्द हुँदा रोजगारी गुमेको छ र तुरुन्तै अर्को काम पाउने अवस्था पनि छैन । विदेशमा रहेका कतिपय नेपाली कामदारलाई खाने बस्ने समस्या देखिन थालिसकेको छ । सङ्घका सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सङ्कटमा परेका आफ्ना देशका नागरिकलाई मद्दत गर्ने उद्देश्यले केही चन्दा सङ्कलन गरी खाद्यान्न एवं अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आएका छन् ।


सम्बन्धित खबरहरु