चौतर्फी आलोचनापछि स्वास्थ्यकर्मी र प्रहरीको तलब कट्टी गर्ने निर्णयबाट पछि हट्यो सरकार

ओकेखबर संवाददाता ८ बैशाख २०७७, सोमबार ०८:३१ मा प्रकाशित ( साल अघि) ८०५ पाठक संख्या

काठमाडौं । कोरोना कोषको लागि संकटको वेला अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समेत तलब कट्टी गर्ने निर्णयको चौतर्फी आलोचनापछि सरकार उक्त निर्णयबाट पछि हटेको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नगर्ने भएको हो ।

गत ३ वैशाखमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हकमा तलब कट्टी स्वैच्छिक बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे सबै निकायलाई पत्राचार गरिसकेको छ ।

सरकारले विशिष्ट श्रेणी र राजपत्रांकित कर्मचारीको सात दिनको, राजपत्रांकित द्वितीय तह र तृतीय तहका कर्मचारीको पाँच दिनको र राजपत्रअनंकित र श्रेणीविहीन कर्मचारीको तीन दिनको तलब कट्टी गर्ने निर्णय गरेको थियो । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको हकमा यस्तो निर्णय गरेको थियो ।

नेपाल प्रहरीले आइजिपी, एआइजी, डिआइजी र एसएसपीको सात दिन, एसपी, डिएसपी र इन्स्पेक्टरको पाँच दिन तथा सइ र असइको तीनको तलब कट्टी गर्न देशभर पत्राचार गरिसकेको छ । नेपाली सेना र सशस्त्रले भने कसरी कट्टी गर्ने भन्ने निर्णय गरेका छैनन् ।


सम्बन्धित खबरहरु