लकडाउन प्रभाव : ६० लाख केजी हरियो चियापत्ती सखाप

ओकेखबर संवाददाता ६ बैशाख २०७७, शनिबार १२:४७ मा प्रकाशित ( साल अघि) ३७० पाठक संख्या

बनियानी । कोरोना संक्रमणलाई रोकथाम र न्युनिकरण गर्नंको लागि सरकरले घोषण गरेरको लकडाउनका कारण चिया किसानहरु मारमा परेका छन् । झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको हो ।

चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा सरकारले लकडान घोषणा गरेपछि बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

“चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ”, उहाँले भन्नुभयो, “जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ ।” साधारणतः प्रतिकेजी रू २० का दरले हिसाब गर्दा पनि किसानले रू १२ करोड बराबरको क्षति भएको उनको भनाइ छ । इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया अधिकृत अधिकारीले बताए । “पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन”, उहाँले भन्नुभयो । झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताए । “पाकेको बाली भित्र्याउने अवस्था छैन”, उनले भने “त्यसमा अझ ज्यान जोगाउनुपर्ने छ ।”

जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हातधन साबुन पानी, सामाजिक दुरी कायम गराएर सुरक्षित तवरबाट काम सुचारु गर्ने सहमति भएको पराजुलीले बताए ।

यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ–संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो ।


सम्बन्धित खबरहरु