चितवनका सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्न सकस

ओकेखबर संवाददाता ६ बैशाख २०७७, शनिबार १०:३४ मा प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

चितवन । चितवन राप्ती नगरपालिका–८ का दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए ।

राप्ती नगरपालिका–८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको  जानकारी दिए । उनले सङ्क्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो । जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको भट्टराईले जानकारी दिए ।

उनीहरुको परिवार ठूलो भएकाले सबैको सङ्ख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिए । उनले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने जानकारी दिए।

उनीहरुको बुधबार आरडिटी गर्दा शङ्कास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । पुनःपरीक्षणका क्रममा दुबै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमित दुबै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताए।

यसैबीच जिल्लामा हालसम्म ४०५ जनाको आरडिटी गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।


सम्बन्धित खबरहरु