अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पुर्‍याऊ : काङग्रेस

ओकेखबर संवाददाता ५ बैशाख २०७७, शुक्रबार १४:२३ मा प्रकाशित ( साल अघि) ३९७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको महामारीलाई रोकथाम र नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पु¥याउने व्यवस्था मिलाउन नेपाली कांग्रसले सरकारलाई आग्रह गरेको छ ।

सयौं किलोमीटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने काँग्रेसले उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज यहाँ विज्ञप्ति जारी गर्नुहुँदै कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उल्लेख गर्नुभएको छ ।

“गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ- अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?” विज्ञप्तिमा भनिएको छ ।

उहाँले नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेत समेत गराउनुभएको छ ।

प्रवक्ता शर्माले भन्नुभएको छ, “अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुपर्यो सरकार । सुनिन्छ भने सुन्नुपर्यो । बुझिन्छ भने बुझ्नुपर्यो । गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, सङ्कटमा साथ रहेको प्रतिपक्षि दल सरकारलाई सचेत गराउँदछ ।”


सम्बन्धित खबरहरु