टिचिङ अस्पतालका डाक्टरमाथि प्रहरीको लाठीचार्ज

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार ०८:०६ मा प्रकाशित ( साल अघि) ५८८ पाठक संख्या

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा बिरामीको उपचारमा खटिएका तीन जना डाक्टरमाथि कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।

महाराजगञ्जको कान्ती अस्पतालमा पछाडि ओरालोमा बुधबार बेलुका प्रहरीले हातपात र लाठी चार्ज गरेको विज्ञप्ति जारी गर्दै संघले जनाएको हो ।

कोरोना (कोभिड–१९)को महामारीका वेला सर्वसाधारणको उपचारमा रहेका चिकित्सक ड्यूटी सकेर फर्किने क्रममा चिकित्सकमाथि कुटपिट भएको संघले जनाएको छ ।

संघका अध्यक्ष डा. अनुप उप्रेती र सचिव बादल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं ।’

कारबाही प्रक्रिया अघि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।


सम्बन्धित खबरहरु