बैशाख १ गते सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गरी सो सेवा नवजीवन अस्पतालमा दिने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिने निर्णय गरेको थियो। सोही निर्देशन अनुसार प्रसुती सेवा बन्द गरिएको सेती अस्पतालले जनाएको छ। अब प्रस्तुती सेवाको कार्य कैलालीको धनगढीमा रहेको नबजीवन अस्पतालले गर्ने भए पनि चाप धान्न भने समस्या हुने नबजीवन अस्पतालले जनाएको छ ।
यता सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने प्रसुती सेवा बन्द गर्न सामाजिक विकास मन्त्रालयबाट निर्देशन आएको तर जनशक्तिको विषयमा कुनै निर्णय नभएको बताए। उनले सेतीको प्रसुती वार्डमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई नवजिवनमा पठाउने वा नपठाउने बारे कुनै निर्णय नभएको बताए।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने नवजिवनले जनशक्ति माग गरे व्यवस्थापन गर्न सकिने बताए। नवजीवनमा सरकारको आमा सुरक्षा कार्यक्रम लागु रहेको छ ।