नयाँ पात्रो

देवीप्रसाद अधिकारी १ बैशाख २०७७, सोमबार ११:१७ मा प्रकाशित ( साल अघि) ११६२ पाठक संख्या

गतबर्षका शब्दहरु गतबर्ष कै भाषाले समेट्छन् । नयाँ बर्षका शब्दहरु अर्को आवज कुर्दै छन् । र केहि कुराको सुरुवात गर्न केहि कुराको अन्त्य हुनु पर्छ । प्रख्यात कवि टि एस एलिअटले लेखेका यी उद्गारले र सामाजिक संजालमा छरपस्ट शुभकामनाका अधिकांश रेडिमेड अनि केहि थान स्वलिखित सन्देशहरुले एक पटक सोच्न बाध्य बनायो । उता भित्तामा झुण्डीएको पात्रोले देखाउने मिति पनि सकिएछ । त्यसैले बिगत बर्षको सिंहावलोकन र आँउदै गरेको अर्को बर्षको अपेक्षासँग एक क्षण घोत्लीन मन लाग्यो ।

 

मानिस यसै सामाजिक प्राणी हो । झन आजको चरम भूमण्डलीकरण र भौतिकीकरणको चङ्गुलबाट को चाँहि अछुतो रहन सक्छ र ? राष्ट्रसंघका पूर्व महासचिव कोफि अन्ननले तेसै भनेका होइनन्– भूमण्डलीकरणको विरुद्ध तर्क गर्नु भनेको गुरुत्वाकर्षण विरुद्ध तर्क गर्नु जस्तै हो । क्याम्पबेल ब्राउनले पनि भने– भूमण्डलीकरण र स्वचालित उपकरणका कारणले जे भैरहेको छ त्यसबाट हामी टाढा रहन सकिदैन । हो यी महान व्यत्तिहरुले भने जस्तै हाम्रो हरक्षण हरपल भूमण्डलीकरण र स्वचालित उपकरणका पाटाहरु बनिरहेका छन् । हामी एक क्षण पनि मोबाइल, टि. भि., इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालबाट टाढा रहन सक्दैनौ । रहन्छौ त केबल छटपटाहट र विचलित शिकार हराएको जन्तु झै ।

 

हामीमा धैर्यता गुम्दै छ । बिगतमा एउटा मुग्लानमा रहेको पतिको पत्र प्राप्त गर्न पत्नी छ महिना बर्ष दिन कुर्थिन । तर आज क्षण भरमा फेसबुकमा भेटिएकी प्रेमिकासँग गफ गर्दा च्याटमा एक मिनेट ढीला रिप्लाइ भयो भने टाउको ठोक्दै मुख खुम्च्याउन थाल्दछौ । बिगतमा ती प्यारी श्रीमतीले श्रीमानको नजिकै मुग्लान(भारत)को कमाइ खान बर्ष दुई बर्ष कुर्थिन । तर आज विश्वको अर्को कुनामा रहेको पतिले तलब बुझ्न नपाउदै श्रीमती जी को नाममा रेमिट्यान्स बनि आइ एम ई भै सक्छ । हिजो हाम्रा बाबा हिडेर बनारस पुग्थे छ महिनाको लागि बाटामा खाने खाध्यान्न बोकेर । आज हामी घरभन्दा बीस मिनेट पर जानु पर्दा आ ! आज गाडि चलेन जान्न भोलि जान्छु भन्छौ । यीनै हुन भूमण्डलीकरण र भौतिकीकरणको गहीरो प्रभाव हाम्रो दैनन्यदिनका ।

 

हामी संवेदनशिलता र साथित्व गुमाउँदै छौँ । अरुलाई परेको त के आफूलाई परेको पिडा गुम्स्याउँछौ । खुसी लुकाउँछौ । मान्छेसँग होइन मेशिनसँग बोल्छौ हामी । केहि तर्क गर्न मन लाग्यो प्रत्यक्ष साथिसँग होइन एउटा कुनामा बसेर कुनै मेशिनलाई माध्यम बनाउँछौँ । कुनै सुख, दुःख, कुन्ठा, पीडा, रोदन, इष्र्या, बैमनश्यता यन्त्रमार्फत प्रेसीत गर्छौ । माया पिरतीका प्रवल भावनात्मक पक्षलाई पनि प्रत्यक्ष हैन घुमाएर फेसबुकमा हाल्छौ । मनका उद्वेगलाई मोबाइलका भित्तामा पोत्छौ । हुलका हुल, चाहिँदा नचाहिँदा मान्छेका गुणहीन भावनामा मिनेट मिनेटमा छचल्किन्छौ । आफ्ना आवश्यकता भन्दा बाहिरका, ल्याकत बिनाका, बेमेल भावका, औकात नमिलेका हजारौका भीडमा हामी रमाउँछौ । आवश्यकता र भावनात्मक नाता भएका गुणकारी नयाँ पुराना आत्मीय मित्रहरुलाई बिस्तारै गुमाउँदैछौ । सामाजिक सञ्जालमार्फत भेटिएका, कोषौं टाढाका, स्वार्थका भावले जोडिएकाहरुलाई आत्मीय ठान्छौ । मित्रतामा हामी कसलाई विश्वास गर्ने कसलाई नगर्ने छुट्याउन असमर्थ हुदैछौ ।

 

हामी पारिवारिक, सांस्कृतिक र सामाजिक विचलनमा जाँदैछौ । हजुर बा हजुर आमाले लोहोरी गायर नाति, नातिनी सुताउने दिन त गए गए । आमा बाबुले छोरा छोरीलाई खुवाउँदा, पिलाउँदा सौच गराउँदा पनि यन्त्र बिना गर्ने दिन सायदै होलान् । पारिवारिक जमघट, भलाकुसारी, भावनात्मक मिलन, बहसका कुरा त बिरलै हुने भैसकेको छ । सांस्कृतिकरुपमा हुने मेला, पर्व, रितिरिवाज आदि र्त यस्तो चलन थियो अरे भन्न थालिसक्यौ । मिडियामा आउने आयातीत चलनलाई नै हामी आफ्नो संस्कृतिको अभिन्न अंग बनाइ सक्यौ । बर्थ डे मा केक नकाटे वैतरणी तरिदैन जस्तो गर्छौ । सामाजिक सद्भाव पुरै खल्बलाएका छौ । हाम्रै देशका पाटीका नेताहरुले पाटी चलाए झै कुनै सामाजिक बिषयमा गुट उपगुट चलाउँछौ सामाजिक सञ्जालमा । धर्म, जात, पात, क्षेत्रियता, भूगोल आदिको आधारमा मत अभिमत प्रकट गर्छौ । छर छिमेक, आफ्नो निकटको सम्बन्धलाई नाफा नोक्सानमा जोडेर हेर्छौं । क्षणभरको आवेगमा ठूला निणर्य गरेर निकटको सम्बन्ध तोडेका छौ । मलामी जाँदा पनि पैँचो तिर्न गएझै देखा परेर नाम टिपाएर फर्किन्छौ । हामिले परिवार, समाज र संस्कृति लाई ख्याल ठट्टा गरेका छौ ।

 

हामी यान्त्रिक भएका छौ । हामी मान्छे हौ भन्ने भुलेका छौ । हाम्रा मानवीय पक्षलाई उपेक्षा गरेका छौ । हामीलाई चाहिने भोजन, योग, व्यायम, आराम, निन्द्रा, यौन, माया, प्रेम, सद्भाव यथेष्ठरुपमा उपयोग गरेका छैनौ । आध्यात्मिकता भन्दा भौतिकतामा रमाएका छौ । द्रब्यको पछि लाग्दा नैतिकता, मानवीय मूल्य, मान्यता, विश्वासनियता गुमाएका छौ । समयको ख्याल नगरी बेपर्बाह लडेका छौँ, भिँडेका छौँ । पैसा बटुल्नको लागि मेशिनले जस्तो जोतीएका छौ । भोक प्यास भुलेका छौँ । प्रीयजनका माया, आलिङ्गन चटक्क बिर्सेका छौ । रात र दिन, घाम र छाँया केको लागी हो विचार गरेका छैनौँ ।

 

हो पुरानो वर्षले हामीलाई छोडेको हो । तर के हामी पनि हामीले छोड्नु पर्ने यावत कुरालाई छोड्दै छौँ त ? हामीले आफूलाई मानवीय मूल्य र मान्यतामा जोड्दै छौ त ? यी चरम बिकारका पक्षहरुलाई पहिचान गर्नु जरुरी छ । हामी सबैको एउटै इच्छा हुन्छ की खुसी जीवन जीउने । बस त्यसको लागि हामी यस नयाँ बर्षदेखि प्रयास गरौं । प्रख्यात कवि टि एस एलिअटले भने जस्तै केहि कुराको सुरुवात गर्न केहि कुराको अन्त्य हुनै पदर्छ । तेसैले जति सकिन्छ आजैदेखि आफूलाई सुर्धादै, सङ्लिदै जाउँ, नयाँको नाममा बिकारित तत्वहरुलाई नअगालौं । परिवर्तनको नाममा मानवीय पक्षसँग खेलबाड नगरौ । नयाँ पात्रो पल्टाउने अवसरमा सम्पूर्ण सकलजनमा यहि शुभेच्क्षा ।

 


सम्बन्धित खबरहरु